• ट्रेण्डिङ्ग :
मलेसियालाई नेपालले २५ रनले हरायो

मलेसियालाई नेपालले २५ रनले हरायो


  • 5.8K
    SHARES
    • जेठ २६, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    मलेसियालाई नेपालले २५ रनले हरायो

    काठमाडौं, २६ जेठ । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई २५ रनले पराजित गर्दै प्रतियोगिताको सुखद् अन्त्य गरेको छ । 

    images

    क्वालालम्पुरमा नेपालले दिएको ८७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो । कसिलो बलिङ गरेको नेपालसामु मलेसियाका लागि एल्सा हन्टेरले सर्वाधिक २८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । यसबाहेक ऐनुर रिधवानले आठ, नुरहसिमा तजुद्दिनले सात र नुर अबेदुल समदले पाँच रन जोडिन् । बलिङतर्फ नेपालकी कप्तान कृतीका मरासिनीले दुई विकेट लिँदा मनिषाकुमारी उपाध्यायको नाममा एक विकेट रह्यो ।

    यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले पूरा २० ओभर खेल्दै सात विकेट गुमाएर ८६ रनको योगफल तयार गरेको थियो । नेपालकी अञ्जली विश्वकर्माले सर्वाधिक ३३ रन बनाउँदा आश्मा पुलामीले २६ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन् । मलेसियाकी नुर अबेदुल समदले दुई र एल्सा हन्टेरले एक विकेट लिए ।

    जित निकाले पनि नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघि पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गर्दा नेपाल दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग भने १० विकेटले पराजित भएको थियो । यस्तै तेस्रो खेलमा भुटानबिरुद्ध चार विकेटको जित निकालेको गरेको नेपाल चौथो खेलमा थाइल्यान्डसँग ४९ रनले पराजित भएको थियो ।

    मलेसियाको आयोजना भएको प्रतियोगितामा नेपाल, यूएई, थाइल्यान्ड, भुटान र कतारले सहभागिता जनाएका थिए । शीर्ष टोलीले दक्षिण अफ्रिकामा आयोजना हुने यू(१९ को विश्वकप खेल्नेछ । छनोटमा यूएई ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । थाइल्यान्ड ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । थाइल्यान्ड र यूएईबीचको विजयी टोलीले विश्वकपमा स्थान बनाउने छ ।


    तेस्रो आँखा
    लेखकबाट थप