काठमाडौं, २९ जेठ । अन्तिम ओभरको अन्तिम दुई बलमा दुई विकेट लिएपछि आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिम अमेरिकाविरुद्धको खेल बराबरीमा टुङ्ग्याएको छ ।
टस जितेर ब्याटिङमा आएको नेपालले दुई सय ७४ रनको योगफल तयार पारेको थियो । पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा नेपालले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले पनि निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ७४ रननै बनायो ।
अमेरिकालाई जितका लागि अन्तिम ओभरमा ६ रनको आवश्यकता थियो । बलिङका लागि नेपालबाट करण केसी आएका थिए । करणको अन्तिम ओभरमा अमेरिकाले चार बलमै ६ रन बनाउँदै खेल बराबर गरेको थियो । तर, आदिलले त्यसपछिको दुई बलमा दुई विकेट लिएपछि नेपालले रोमाञ्चक रुपमा खेल बराबर गर्न सफल भएको थियो । अमेरिकाका ओपनर स्टिभन टेलरले सतकीय इनिङ खेले । उनले एक सय २३ बलमा ११ चौका र तीन छक्कासहित एक सय १४ रन बनाए । यसबाहेक, कप्तान मोनांक पटेलले ८५, आरोन जोनसले २६ र राहुल जारिवालाले १० रन जोडे ।
नेपालका आदिलले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले समान एक विकेट लिए । यसअघि पहिले ब्याटिङमा आएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ७४ रनको योगफल तयार पारेको थियो । नेपालका तीन ब्याटर अर्धसतक बनाएका थिए । ओपनर आसिफ शेख ६१ रनमा पभेलियन फर्किदा, देव खनालले ५४ र रोहित पौडेलले ६२ रन जोडेको थिए । यसबाहेक, टिमको खातामा आदिलले ३६ र कुशल भुर्तेलले १९ रन थपेका थिए ।
अमेरिकाका रुस्टी थेरोनले सर्वाधिक चार विकेट लिए । यस्तै, अलि खान, र सौरभ नेत्रवाल्करले समान दुई विकेट लिँदा रिसार्ग पटेल र यासिर मोहम्मदले एक–एक विकेट लिए । बराबरीसँग नेपालले लिग २ का १४ खेलमा १३ अंक जोडेको छ । नेपाल तालिकाको छैटौं स्थानमा छ । यस्तै, चौथो स्थानको अमेरिकाले भने २२ खेलमा २१ अंक जोडेको छ ।
