• ट्रेण्डिङ्ग :
सडकबाट ढिस्को खस्दा रोल्पाको दाउन्नेभीरमा पुरिएर दुई बालकको मृत्यु

सडकबाट ढिस्को खस्दा रोल्पाको दाउन्नेभीरमा पुरिएर दुई बालकको मृत्यु


  • 10.0K
    SHARES
    • जेठ २९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 15.4K Views

    सडकबाट ढिस्को खस्दा रोल्पाको दाउन्नेभीरमा पुरिएर दुई बालकको मृत्यु

    काठमाडाैं,२९ जेठ । निर्माण गरिरहेको सडकबाट ढिस्को खस्दा रोल्पाको दाउन्नेभीरमा पुरिएर दुई बालकको मृत्यु भएको छ । आइतबार बिहान भएको उक्त घटनामा एकै परिवारका दाजुभाइको मृत्यु भएको हो । प्रहरीका अनुसार परिवर्तन गाउँपालिका–५ दाउन्नेभीरमा नयाँ सडक खन्न स्काभेटर मेसिन प्रयोग गरिएकोमा ढिस्को खस्दा खेलिरहेका दाजुभाइ च्यापिएका थिए ।

    images

    स्काभेटरले थर्काएको जनिमबाट खसेको ढिस्कोले दुवैलाई पुरेको थियो । घटनामा उक्त गाउँ निवासी प्रकाश खड्काका दुई छोराहरु ७ वर्षका डेबिड खड्का र २ वर्षीय इशान खड्काको मृत्यु भएको हो । मुख्य सडकबाट भित्री गाउँ लैजाने सडक खन्दा ढिस्कोले बालकलाई पुरेपछि स्थानीयले प्रहरीसँग सहयोग मागेका थिए । घटना हुँदा आमा घरमै थिइन् । बालकका बुबा प्रकाश भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् ।

    ढिस्को खस्दा स्काभेटर रोकेर चालक खाना खान पुगेका थिए । घटनापछि प्रहरीलाई उद्धारमा खटाइएको र ढिस्को खनेर बालकको शव निकालिएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए । बिहान ९ बजे भएको घटनामा उद्धारका लागि प्रहरी पौने ११ बजे पुगेको थियो ।

    उद्धारका लागि बागमारा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर थारु र घर्तीगाउँस्थित इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देवराज भट्टराईको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए । प्रहरीको सहयोगमा मृतक दुवै बालकको शव पोष्टमार्टमका लागि रोल्पा अस्पतालमा ल्याइएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप