काठमाडौं, ६ असार । आइतबार काठमाडौंमा सुचनाको हक सम्बन्धि कानूनको व्यवहारिक प्रयोग र प्रर्वद्धन विषयक अन्तरर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम सूचनाको हकका लागि राष्ट्रिय महासँघले आयोजना गरेको थियो । राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासँघले पहिलो पटक राजधानी काठमाडौंमा यो कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकको अभियानमा महासँघ कोषेढुँगा बनेको बताए । गुरुङले सूचना नदिने सूचना अधिकारीलाई होइन कार्यालयको जिम्मेवार व्यक्ति भनेको कार्यालय प्रमुखलाई भएकोले आयोगले कार्यालय प्रमुखलाई कारवाही अगाडी बढाउने गरेको जानकारी दिए।

सूचनाको हकका विज्ञ तारानाथ दाहालले सूचना नमागेसम्म सूचनाको हकको अभियान अगाडी बढ्न नसक्ने भन्दै सूचना माग्न सबैलाई आग्रह गरे । गलत सूचना दिएमात्र सूचनाको दूरुपयोग हुन्छ भन्दै सहि सूचना दिए सूचनाको दूरुपयोग नहुने उनको भनाइ छ ।
कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासँघका राष्ट्रिय अध्यक्ष उमीद बागचन्दले सूचनाको हक लोकतन्त्रको प्राणवायु भएकोले यसको प्रयोगले लोकतन्त्र फस्टाउने भन्दै जनताको अनुहारमा खुशि ल्याउने अभियानका रुपमा महासँघले लिएको बताए ।

