काठमाडौं, ९ असार । फिफा वरीयतामा नेपाली राष्ट्रिय फुटबल टिम खस्किएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाली राष्ट्रिय फुटबल टिम आठ स्थान खस्किएको हो । यसअघि वरीयताको एक सय ६८औं स्थानमा रहेको नेपाल हाल एक सय ७६औं स्थानमा झरेको छ ।
नेपालले भर्खरैमात्र एएफी एसियन कप २०२३ को तेस्रो चरणको छनोट खेलेको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र तेस्रो खेलमा इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । वरीयताको शीर्ष स्थानमा ब्राजिल र दोस्रो स्थानमा बेल्जियम यथावत् छन् । तेस्रो स्थानमा भने फ्रान्सलाई पछि पार्दै अर्जेन्टिना उक्लिएको छ । यस्तै, चौथो स्थानमा फ्रान्स र पाँचौ स्थानमा इङ्ल्यान्ड छन् ।
नेपाल दक्षिण एसियाली वरीयताको तेस्रो स्थानमा छ । यस्तै, नेपाल एसियाली वरीयताको ३५औं स्थानमा छ । दक्षिण एसियाको शीर्ष स्थानमा भने भारत छ । भारत वरीयताको एक सय चार स्थानमा छ । यस्तै, दोस्रो स्थानमा रहेको माल्दिभ्स एक सय ५६औं स्थानमा, चौथो स्थानमा रहेको भुटान एक सय ८६औं, पाँचौ स्थानमा रहेको बंगलादेश एक सय ९२औं, छैटौं स्थानमा रहेको पाकिस्तान एक सय ९६औं स्थानमा र सातौं स्थानमा रहेको श्रीलंका दुई सय सातौं स्थानमा छ ।
