काठमाडौं, १० असार । नेपालले मलेसियामा जारी एसिसी महिला टी २० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि युएईबाट ८२ रनको लक्ष्य पाएको छ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा १९।५ ओभरमा अलआउट हुँदै ८१ रन बनायो। नेपालका लागि आश्मिना कर्माचार्यले सर्वाधिक ५ विकेट लिइन्। ईन्दु बर्माले ३ विकेट लिँदा सीता रानामगरले २ विकेट हात पारिन्।
यदि आज नेपालले युएईलाई हराए एसिया कप खेल्न पाउनेछ। प्रतियोगिताको विजेता र उपविजेता एसिया कपका लागि छनोट हुनेछन्। रूविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो।
यता जारी प्रतियोगितामा राम्रो लयमा देखिएको युएई अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। यसअघि नेपालले समूह चरणमा भुटान, कुवेत र बहराइनलाई हराउँदा हङकङसँग पराजित भएको थियो। यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा हङकङ र मलेसिया फाइनल प्रवेशका लागि भिड्नेछन्। च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ ।
