काठमाडाैं,१३ असार । उच्च अदालत पाटनले नेपाल स्काउटको लैनचौरस्थित जग्गा र सम्पत्ति खड्काल्याण्ड प्रा.लि ले उपयोग गर्न नपाउने ठहर गरेको छ । यसअघि काठमाडौं जिल्ला अदालतले १५ वर्षको लिज अवधिसम्म खड्काल्याण्डलाई हटाउन नमिल्ने भनी गरेको फैसला उच्च अदालतले उल्ट्याएको हो ।
न्यायाधीश राजेन्द्र खरेल र नरिश्वर भण्डारीको संयुक्त इजलासले नेपाल स्काउटले जिल्ला अदालतको फैसलाविरुद्ध गरेको पुनरावेदनको सुनुवाइ गर्दै सोमवार जिल्लाको फैसला उल्ट्याएको हो ।
स्काउटका कर्मचारीहरूका अनुसार दुईपक्षीय सम्झौताअनुसार खड्का ल्याण्डले पार्किङसहित साढे ५ रोपनी जग्गा मात्रै उपभोग गर्न पाउने थियो । तर उसले थप डेढ रोपनी हड्पेर अवैधानिक रूपमा ७ रोपनी जग्गामा कब्जा गरिराखेको छ । स्काउटले विभिन्न मितिमा खड्का ल्याण्डसँग लैनचौरस्थित आफ्नो जग्गा तथा भवन भाडामा दिने करार सम्झौता गरेको थियो ।
