काठमाडाैं,१४ असार । अविरल वर्षासँगै आएको बाढीले बगाउँदा मोरङको सुन्दरहरैंचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा–६ गछिया खोलाले बगाएर सोही ठाउँका ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको हो ।विराटनगरका विभिन्न बस्तीमा बाढी पसेको छ । बाढी बस्तीमा पसेपछि स्थानीयवासी सुरक्षित स्थानतर्फ गएका छन् । विराटनगरको ६, ७, ८, ११, १२, १६ र १९ नम्बर वडाका घर जलमग्न भएका छन् । त्यहाँका बासिन्दालाई प्रहरीले उद्धार गरिरहेको छ ।
यस्तै, कटहरी गाउँपालिकाभित्र १३० घर डुबानमा परेको मोरङ प्रहरी प्रवक्ता, डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार कटहरी–१ मा टाइगरटोलमा सिंघीया खोलाको बाढी पस्दा ६० घर डुबानमा परेको छ भने २५० जना विस्थापित भएका छन् । यस्तै कटहरी–१ मै हनुमान मन्दिर एरियामा सिंघीया खोलाको बाढी पस्दा ४० घर डुबानमा परी १७० जना विस्थापित भएको बताइएको छ । नारी विकास एरियाको ३० घर डुबानमा पर्दा एक सय जना विस्थापित भएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
यस्तै, जहदामा १ र २ नम्बर वडामा राजवंशी चौकमा १२० घर डुबानमा पर्दा ४५० जना विस्थापित भएको प्रहरीले जनाएको छ । ‘डुबानमा परेको घरपरिवारको रिपोर्ट प्रारम्भिक हो,’ डिएसपी श्रेष्ठले भने, ‘मोरङका धेरै खोलामा बहाव बढेको छ । डुबानमा हुने घरको संख्या अझै बढ्नेछ ।’ बुढीगंगा–२ स्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमै बाढी पसेपछि सेवा बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
