विराटनगर,२४ असार । प्रदेश १ को नामकरणका लागि सहमति जुटाउन बसेको सर्वदलीय छलफल बिना निष्कर्ष टुंगिएको छ । शुक्रबार मुख्यमन्त्री कार्यालयमा नामको विषय छलफलका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको छलफल भएको थियो । छलफल बिना निष्कर्ष टुङ्गिएको सांसदहरुले बताएका छन् ।
नेपाली कांग्रेसका एक सांसदले भने, ‘बैठकमा चर्चामा आएकै नामहरु प्रस्तुत भएको थियो’, कोशी, कोशी किराँत, किराँत, सगरमाथा, लिम्बुवानलगायत नामका विषयमा छलफल भए पनि दलहरुबीच सहमति जुट्न सकेन। ‘नामका विषयमा दलहरुबीच छलफल भयो तर निष्कर्षमा पुगिएन्,’ उनले थपे, ‘नाम राख्ने विषयमा एकमत छ, सहमतिका लागि फेरि बस्छौं ।’
नेकपा एमालेले भूगोलका आधारमा कोशी प्रदेश राख्नुपर्ने बताउँदै आएको छ । सत्तारुढ दलका नेताहरुले भने पहिचानको मुद्दा रहेकोले नामसँग पहिचान जोड्नुपर्ने बताएका थिए । बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने पहिचानको विषय जोडेर कोशी–किराँतमा जानुपर्ने धारणा राखेका थिए ।
एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले बैठकमा जातीय पहिचान झल्कने खालको नाम राख्न नहुने पक्षमा एमाले रहेको बताए । धेरैजसोको सांसदहरुको सरगरमा वा कोशी सर्वसहमत बनाएर जानु पर्ने धारणा रहदै आएको छ ।
