काठमाडौं, २ साउन। पहिलो पटक आयोजना हुने लागेको नेपाल टी-२० लिग खेल्ने टिमको नाम सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार हायत प्यालेसमा एक कार्यक्रम गर्दै लिग खेल्ने ४ टिमको नाम मात्र सार्वजनिक गरेको हो ।
नेपाल टी-२० लिगमा ६ टिमले प्रतिस्पर्धा गर्ने तय भएपनि सोमबार कार्यक्रममा चार टिमको नाम मात्र घोषणा भएको हो । जसमा कान्तिपुर क्यापिटल्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स र डल्लास टेक्सास छन् । बाँकी दुई टिमको घोषणा छिटै हुने क्यानका कार्यबाहक सचिव प्रशान्त मल्लले बताए । क्यानले गत जेठमा लिग खेल्ने ६ शहरको नाम सार्वजनिक गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनीरभैरहवा र सुदूरपश्चिम थियो ।
ती टिमको स्वामित्व लिनका लागि क्यानले टेण्डर आह्वान गरेको थियो । त्यसै अनुसार फ्रेन्चाइज टिम नाम टुङ्गो लागेको हो । क्यानले नेपाल टी २० लाई नै नेपालको आधिकारिक फ्रेन्चाइज लिग भनेको छ। जसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पनि स्वीकृति दिइसकेको छ । क्यानले नेपाल टी-२० लिगलाई आफ्नो ड्रिम भेन्चर मानेको छ । यसले नेपाली क्रिकेटलाई नै परिवर्तन गर्ने क्यानको दावी छ । क्यानले गत जेठमा नेपाल टि-२० लिगको आधिकारिक घोषणा गरेको थियो । जसअनुसार पहिलो संस्करण आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा हुनेछ ।
तोकिएकै समयमा लिग गर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्दले बताए । लिग आयोजनाका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई स्ट्राटेजिक एण्ड कमर्सियल पार्टनरको अधिकार दिएपछि नेपाल टी-२० लिग यसअघि नै आलोचित बनेको थियो । अब क्यानले यसललाई कसरी आयोजना गर्छ भन्ने मुख्य चासोको विषय बनेको छ। नेपाल टी-२० लिगमा खेल्ने क्याटेगोरी एका खेलाडीको बेस प्राइज नै १५ लाख हुने भएकोले खेलाडीहरु भने उत्साहित छन् ।
