एसईईका उत्कृष्ट छात्रछात्रालाई एक–एक लाख पुरस्कार

एसईईका उत्कृष्ट छात्रछात्रालाई एक–एक लाख पुरस्कार


  • 7.8K
    SHARES
    • श्रावण १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    एसईईका उत्कृष्ट छात्रछात्रालाई एक–एक लाख पुरस्कार

    खोटाङ, १४ साउन। केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईईमा सबैभन्दा बढी अङ्क ल्याउने गाउँपालिकाभित्रका दुई विद्यार्थीलाई रु एक–एक लाख नगद पुरस्कार प्रदान गर्ने भएको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट एसईई दिएकामध्येमा सबैभन्दा बढी अङ्क ल्याउने एक छात्र र एक छात्रालाई गाउँपालिकाले नगद पुरस्कार प्रदान गर्ने भएको हो ।

    images

    विद्यार्थीलाई सामुदायिक विद्यालयमा पढ्न अझ अभिप्रेरित गर्ने उद्देश्यले एसईईमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई पुरस्कारको व्यवस्था गरिएको गाउँपालिका प्रमुख समिर राईले बताए । विद्यार्थीलाई पुरस्कृत गर्ने कार्यक्रम गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

    यस्तै एसईई दिएका गाउँपालिकाभरिका गरिब तथा जेहेन्दार दुई छात्र–छात्रालाई गाउँपालिकाले पढाउने भएको छ । उनीहरूका लागि गाउँपालिकाले १८ महिने प्राविधिक शिक्षा अध्ययनको व्यवस्था मिलाउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ । एसइईमा सबैभन्दा बढी अङ्क ल्याउने दुई विद्यार्थी र गरिब तथा जेहेन्दार दुई विद्यार्थी पहिचान गर्ने कामको थालनीसमेत गरिएको गाउँपालिकाले जनाएको छ । उनीहरूलाई आगामी भदौ–२३ गते अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सार्वजनिक गरेर पुरस्कार प्रदान गरिने जनाइएको छ ।

    विसं २०७८ को एसईईमा गाउँपालिकाको सातवटा सामुदायिक विद्यालयबाट दुई सय ५२ विद्यार्थीले परीक्षा दिएका थिए । पछिल्लो समय सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दै गएपछि त्यसलाई रोक्न गाउँपालिकाले विद्यार्थी प्रोत्साहन कार्यक्रम गाउँसभाबाटै पारित गरेर ल्याएको हो । गत वैशाख ९ गतेबाट २० गतेसम्म देशभर सञ्चालन भएको एसइई परीक्षाको नतिजा गत साउन ११ गते सार्वजनिक भइसकेको छ । जिल्लाबाट तीन हजार आठ सय नौ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप