काठमाडाैं, १६ साउन। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त नरोके र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन नगरे आफ्नो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ ।
पार्टी प्रवक्ता प्रकाण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ: ‘हाम्रो पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौँ’ ।
यस्तै यसबाट भावी निम्तिने गंभिर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ। उसले राज्यका सञ्चालकहरुले आफ्नो पार्टी एकीकृत जनक्रान्तिकाे संवेदनशिल प्रक्रियामा रहेको कुरा बुझ्न भनेको छ ।
आज ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, उदयबहादुर चलाउने लगायतका अन्य नेता–कार्यकर्ताहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको थियो। उनीहरुमाथि हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी हुनेहरुमा विप्लव र विश्वकर्मा, विश्वकर्माकी श्रीमती नन्दा, सुर्खेतका धर्मेन्द्र बास्तोला, रोल्पाका सन्तोष बुढामगर, धादिङ निलकण्ठका मोहन बहादुर कार्की, बागलुङका टेकबहादुर केसी, कालिकोटका भरतबहादुर बम, कालिकोटकै नविन विश्वकर्मा, जाजरकोटका उदयबहादुर चलाउने, गोरखाकी उमा भुजेल, भोजपुरका पदमबहादुर राई, भक्तपुरका शंखर दमाई, सिरहाका दमयन्ती कुमारी श्रेष्ठ चिमोरिया, रोल्पाका बाबुलाल पुनमगर, स्याङ्जाका सुदीप कुँवर लगायतका छन् ।
यसैगरी कपिलवस्तुका बसन्त श्रेष्ठ, बाँकेका धर्मराज बडुवाल, खोटाङका चन्द्रबहादुर बुढाथोकी, काभ्रेका विष्णु प्रसाद तिमिल्सिना तथा दोलखाका मईदेवी परियार, प्रेमबहादुर दर्नाल, लोकेन्द्रबहादुर दर्नाल, सन्जिव नेपालीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । अदालतले ३५ दिन भित्र उपस्थित हुन उनीहरुलाई भनेको छ । अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी दिइएको थियो। यहि घटनापछि नेकपाको यस्तो प्रतिक्रिया आएको हो ।

