काठमाडौं, १९ साउन। अनेरास्ववियुले गएको केहि दिनदेखि भइरहेको अविरल वर्षाको कारणले ठूलो मात्रामा जनधनको क्षति पुराएको भन्दै कुटनीतिक पहल मार्फत कोसी ब्यारेजका सबै ढोकाहरु खुलाउन आवश्यक पहल थाल्न सरकारसँग आग्रह गरेको छ ।
बिहीवार अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै भारतले कोसी ब्यारेजका सबै ढोका नखोल्दा नदीमा आएको बाढीले डुम्रिबोटेबाट तटबन्ध भत्काएर पश्चितमतर्फ श्रीलंका टापु प्रबेश गर्दै सुनसरीको बराहक्षेत्र र उदयपुरको बेलका नगरपालिकाका करिब २ हजार घर परिवारलाई असर गरेको उल्लेख गर्दै सरकारलाई यस्तो आग्रह गरेकी हुन् ।
‘प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्न सकिने विकल्प हुँदाहुँदै पनि त्यसतर्फ सरकार गम्भीर नहुँदा ठूलो मात्रामा क्षति हुँदै गएको छ’, विज्ञप्तिमा भनिएको छ ‘सरकारले कुटनीतिक पहल मार्फत कोसी ब्यारेजका सबै ढोकाहरु खुलाउन आवश्यक पहल यथाशिघ्र गरोस् । कोसीको बाढीबाट हुने सम्भावित क्षतिलाई नियन्त्रण गर्न गोताखोरसहितको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तयारी अवस्थामा राख्न आग्रह गर्न चाहन्छौ ।’
साथै बरालले तत्काल राहत र उद्दारको कार्यमा क्रियाशील रहन अनेरास्ववियुका सम्बन्धित स्थानका सम्पूर्ण नेता÷कार्यकर्ता तथा शुभेच्छुकहरुलाई आग्रह गरेकी छिन् । बाढी र डुवानका कारण ठूलो संख्यामा मानिसहरु घरबार विहिन भएको, ठुलो संख्यामा कृषि उपज एवं आर्थिक र भौतिक संरचनामा क्षति पुगेको छ उनले उल्लेख गरेकी छिन् । पीडित नागरिकहरु यातायात, विधुत, खानेपानी जस्ता अत्यावश्यक वस्तु तथा सेवाको उपभोग गर्न वन्चित भएको भन्दै बरालले त्यसप्रति ध्यान दिन सरकारलाई आग्रह गरेकी छिन् ।
