कांग्रेस महाधिवेशन : प्रचण्डलाई झस्काएका जीतनारायण जीत नजिक

कांग्रेस महाधिवेशन : प्रचण्डलाई झस्काएका जीतनारायण जीत नजिक


  • 11.1K
    SHARES
    • मंसिर २३, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 17.0K Views

    कांग्रेस महाधिवेशन : प्रचण्डलाई झस्काएका जीतनारायण जीत नजिक

    तेस्रोआँखा

    images

    काठमाडौँ,मंसिर २३ ।  झण्डै दुई महिना अघि चितवनमा कांग्रेस महामन्त्री डा. शशांक कोइराला सहभागी कांग्रेसको भेलामा कांग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठले महामन्त्री कोइरालालाई एउटा अनुरोध गरे । 

    अनुरोध नत आँफूलाई महाधिवेशनमा पद दिलाईदिनका लागि गरिएको थियो, नत सोर्स फोर्सको नै । उनको अनुरोध थियो ‘रुखमा बाहेक अन्य चुनाव चिन्हमा भोट हाल्न नलगाईयोस् ।’ यो अनुरोध संगै सभापति श्रेष्ठले कोइरालालाई अर्को अडान पनि सुनाए ‘अब चितवनका कांग्रेसीहरुले रुखमा बाहेक अन्यत्र भोट हाल्ने छैनन् ।’ 

    गत स्थानीय तहको निर्वाचनमा चितवनका कांग्रेसीहरुका लागि पार्टी निर्णय निकै अप्रत्यासित बनिदियो । कांग्रेसले भरतपुर महानगरपालिकाको निर्वाचनको तयारी अन्तिम चरणमा पुर्याएकै बेला पार्टी नेतृत्वले अप्रत्यासित निर्णय गरिदियो ‘माओबादीको उम्मेदवारलाई भोट हाल्नु ।’ 

    पार्टी केन्द्रको उर्दीले दिनेश कोइरालाको उम्मेदवारी फिर्ता भयो । सभापति शेरवहादुर देउवाले उम्मेदवारी फिर्ता लिन निर्वाचन आयोगमा पत्र पठाए । फलतः कांग्रेस उम्मेदवार कोइरालाको उम्मेदवारी खोसियो ।

    माओबादी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणू दाहाललाई महानगरमा जीताउनका लागि उम्मेदवारी फिर्ता गराइएका चितवनका कांग्रेसीहरु फेरि सत्तारुढ गठबन्धन चुनाव सम्मै कायम रहने भन्ने सन्देशले त्रस्त बनिरहेकै छन् । 

    ‘फेरी कांग्रेस सहितका सत्ताधारी दलको गठबन्धनले चुनाव सम्मै गठबन्धनलाई कायम राखेर अघि बढ्ने भन्ने चर्चा चलिरहेकै छ,’ श्रेष्ठले भने ‘यो बहस र चर्चाले हामीहरुलाई फेरी पनि रुखमा भोट हाल्नबाट बञ्चित गर्न खोजिएको त हैन ? हामीलाई यो आशंका छ, तर अब भने हामीहरुले रुखमा बाहेक अन्यत्र कतैपनि भोट हाल्दैनौँ ।’

    चितवन जिल्ला सभापति श्रेष्ठको ‘चितवन भाषण’ लाई लिएर माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल फेरी अत्तालिए । केहिदिन अघि मात्रै चितवन पुगेका दाहालले उनै श्रेष्ठको भनाईलाई लक्षित गर्दै गठबन्धन कायम हुनुपर्ने मन्तब्य दिएर फर्किएका छन् । 

    उनले गठबन्धन आगामी निर्वाचन सम्मै कायम राख्न सकेमात्रै  लोकतन्त्रलाई बचाउन सकिने भन्दै कांग्रेसीहरुको मन पगाल्न खोजेका दाहालले भनेका थिए ‘केहि चितवनका साथीहरुले रुखमा बाहेक अन्यत्र भोट हाल्दैनौँ भन्नु भएछ,तर गठबन्धन लोकतन्त्रको बचाउका लागि निर्वाचन सम्मै हुनुपर्छ भन्ने उहाँहरुले बुझ्नु पर्छ ।’ तथापी श्रेष्ठ भने आफ्नो अडानबाट ‘टसमस’ नहुनेमा छन् । ‘हामीले विगतमा गल्ती गर्यौँ,’ उनले भने ‘अब त्यो गल्ती हामीबाट कहिल्यै दोहोरिने छैन ।’

    रुखमा मात्रै भोट हाल्ने पछिल्लो अभिब्यक्तिले प्रचण्ड झस्काएका श्रेष्ठ कांग्रेसको केन्द्रीय समितिमा प्रवेश गर्न खोज्दैछन् । उनि कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्ने अन्तिम तयारीमा छन् । उनले आफ्नो चुनावी एजेण्डा पनि चितवनमा आँफूहरुको भोगेको कांग्रेसको रोग नियन्त्रणलाई नै बनाएका छन् ।

    ‘हामी कांग्रेसीहरु सधैँ कांग्रेसी भैरहनु पर्छ, स्वार्थका लागि हाम्रो मताधिकार अन्य चुनाव चिन्हमा प्रयोग हुनुहुँदैन भन्ने हो,’ उनले भने ‘हिँजो हामीले चितवनमा भोग्यौँ, भोली अन्य जिल्लाका साथीहरुले भोग्नु होला, अनि देशैभर यो रोग फैलियो भने के हुन्छ ? यो प्रबृत्ति अन्त्य हुनुपर्छ भन्ने मेरो पहिलो मिशन हो ।’

    यसैगरी, कांग्रेसमा पुस्तान्तरणको मुद्धालाई उनले अर्को एजेण्डा बनाईनु पर्ने बताउँछन् । पार्टीमा युवा शक्तिहरुको अहिलेको उपस्थितीले पुस्तान्तरणको आवश्यक्ता महशुस भैरहेको भन्दै उनले भने ‘युवाहरु नेतृत्वमा आउनु जरुरीछ, यो अभियानको थालनी हामी सबैले गर्नुपर्छ ।’

    २०४८ मा १२ बर्षको उमेरमा चितवन स्थित एक बिद्यालयको नेविसंघ सचिव बनेर कांग्रेस राजनीतिको औपचारिक राजनीतिक यात्रा थालेका श्रेष्ठ २०५२ मा नेविसंघको जिल्ला सदस्य बनेका थिए । दुइ कार्यकाल सदस्य बनेका उनि जिल्ला सचिव हुँदै नेविसंघ जिल्ला सभापति बनेका थिए ।

    यसैगरी, नेविसंघको राजनीतिबाट कांग्रेस राजनीतिमा फड्को मारेका श्रेष्ठ कांग्रेसको जिल्ला सदस्य, सचिव हुँदै पार्टी सभापति बनेका हुन् । हाल ४१ बर्षीय श्रेष्ठ ३६ बर्षकै उमेरमा पार्टी सभापति बने । 

    कांग्रेसको ७५ बर्षे लामो इतिहाँसमा चितवनबाट अहिले सम्म एकजना नेताले पनि केन्द्रमा प्रतिनिधित्व गरेका छैनन् । फलतः चितवनबाट केन्द्रीय समितिमा प्रतिनिधित्वको खडेरी तोड्ने मिशनमा उनि छन ।

    ‘अहिलेसम्म चितवनबाट एकजना कांग्रेसी नेता केन्द्रीय समितिमा प्रवेश पाएको छैन,’ उनले भने ‘म आँफूलाई बलियो उम्मेदवार बनेर केन्द्रीय समितिमा चितवनको प्रतिनिधित्व गराउने योजनामा लागिरहेको छु ।’


    तेस्रो आँखा