काठमाडौं, २३ साउन। आसन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले सिट बाँडफाँटबारे प्रारम्भिक छलफल सुरु गरेको छ । सोमबार बालुवारमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँटमा दावीबारे प्रारम्भिक सुझाव संकलन गरेको हो ।
कांग्रेस प्रवक्ता डा= प्रकाशशरण महतले सिट बाँडफाँटको सुझाव कार्यदलको बैठकमा पेश हुने जानकारी दिए । उनले भने, ’शीर्ष नेताबाट आएको सुझाव कार्यदलको बैठकमा पेश हुन्छ । गठबन्धन पनि जोगाउनुपर्नेछ । त्यहि अनुसार सिट दावी गर्छौं ।’’
बैठकमा नेताहरुले पार्टीभित्रको आन्तरिक एकतामा कुनै पनि किसिमको असर नपर्ने गरी गठबन्धन गर्न सुझाएका थिए । यस्तै उनीहरुले सबैलाई न्याय हुने गरी गठबन्धन गर्न सुझाव दिए । कांग्रेसबाट कार्यदलमा कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की, गगन थापा रहेका छन् ।
कार्यदललाई सिट बाँडफाँटको जिम्मा दिइएको छ । संघ र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनले ११ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलको सुझाव अनुसार गठबन्धनमा आवद्ध दलले सिट बाँडफाँटको टुंगो लगाउनेछन् ।
