काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डलमा सुरुभएको छ । उत्साह, एकता, रुपान्तरणः सफल बनाऔं नेपाली कांग्रेस १४ औं महाधिवेशन मुलनारा सहित काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन भएको छ ।
उद्घाटन सत्रमा विभिन्न दलका प्रमुख सहित विदेशी राजनीतिक दलका प्रतिनिधीले सम्बोधन गर्दैछन् । महाधिवेशनबाट आगामी ५ वर्षका लागि नयाँ नेतृत्व चयन गर्न देशभरिबाट करीब ४ हजार ६ सय प्रतिनिधि र विदेश स्थीत जनसम्पर्क समिति प्रतिनिधि उपस्थित भएका छन् ।
महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन भारतबाट चार जना नेताहरु काठमाडौं आएका छन् । भारतीय जनता पार्टी भाजपाका नेता हर्ष बर्धन र तृणमूल कांग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरु छन् । महाधिवेशन उद्घाटन सत्रमा अहिले एक हजार स्वयमसेवक परिचालन गरिने गरिएको छ ।
महाधिवेशनमा उपस्थित हुनेहरुका लागि टुँडिखेलमा गाडी पार्किङको व्यवस्था गरिएको छ । निर्वाचन समितिका अनुसार भोलि बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने, बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारी दर्ता उपर दाबीविरोध र जाँचबुझ गर्ने, बेलुकी ७ बजेदेखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय र बेलुकी ९ देखि १२ बजेसम्म उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्ने समय तालिका निर्धारण गरिएको छ ।
समितिले आइतबार बिहान ११ बजे उम्मेदवारको मनोनयन फिर्ता लिने र दिउँसो सवा १२ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तोकेको छ । मतदान भने सोमबार बिहान ८ बजेदेखि हुनेछ । निर्वाचन समितिले मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकेको निर्वाचन समितिले जनाएको छ ।
