काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेस संस्थापन पक्ष पदाधिकारीका लागि सहमति नजिक पुगेको छ । संस्थापनका शीर्ष नेताको छलफलमा उपसभापति, महामन्त्री र अन्य पदाधिकारीको अन्तिम टुंगो लगाउने प्रयास भइरहेको एक नेताले बताए ।
संस्थापनमा महामन्त्रीका लागि सहमहामन्त्री प्रकाशशरण महत, नेता बालकृष्ण खाँण, विश्व प्रकाश शर्मा र प्रदिप पौडेलले मुख्य दावी प्रस्तुत गर्दै आएका छन् । छलफलमा महत र खाँणका विषयमा सहमति नजिक पुगेको उनले बताए । साँझसम्म प्यानलसहित घोषणा गर्ने संस्थापनको तयारी छ ।
आकांक्षी धेरै भएपछि सभापति शेरबहादुर देउवाले प्रदेश तहबाट मिलेर आउन निर्देशन दिएको थियो । यता, संस्थापनइतरमा साझा उम्मेदवारको टुंगो लगाउन बरिष्ठ नेता रामचन्द्र पौडेल निवासमा छलफल भइरहेको छ । १४ औं महाधिवेशन उद्घाटन अघि साझा उम्मेदवार टुंगो लगाउने विषयमा नेताबीच अन्तिम छलफल भइरहेको छ ।
संस्थापनइतरमा सभापतिका आकांक्षी धेरै पछि सहमति हुन सकिरहेको छैन । मुख्यतया नेता शेखर कोइराला र प्रकाशमान सिंहबीच सहमति हुन सकेको छैन । दुई जनामा नेतामा सहमति नभए बरिष्ठ नेता पौडेललाई अघि सार्ने दोस्रो नेताहरुको तयारी छ । पुर्वमहामन्त्री सिंहले सहमति जुट्न नसके भोली प्यालन सहित उम्मेदारी घोषणा गर्ने तयारी गरेका छन् ।
