‘कुमारी आमा’को चित्कारः मेरो मृत्युले हजारौं निहारिकाहरुको जीवन बचाउने विस्वास छ, म मर्न तयार छु 

‘कुमारी आमा’को चित्कारः मेरो मृत्युले हजारौं निहारिकाहरुको जीवन बचाउने विस्वास छ, म मर्न तयार छु 


  • 13.3K
    SHARES
    • श्रावण २७, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 20.5K Views

    ‘कुमारी आमा’को चित्कारः मेरो मृत्युले हजारौं निहारिकाहरुको जीवन बचाउने विस्वास छ, म मर्न तयार छु 

    काठमाडौं, २७ साउन। नेपालमा न्याय पाउन कति कठिन छ भन्ने विषयको एक ज्वलन्त उदाहरण हुन् ‘कुमारी आमा’ को नामले परिचित धनुषाकी निहारीका राजपुत । उनी गएको सात दिन देखि न्यायको माग गर्दै बसन्तपुरमा अनसनरत थिइन् । बसन्तपुर दरवार स्क्वायरमा दुई वर्षे छोरासँग एउटा टेन्टमा बसेर दिनरात बिताउन विवस उनको यो काठमाडौंमा बसेको दोस्रो आमरण अनसन हो ।

    images

    ७६ सालको कार्तिकमा आफू साथीको दाइबाट बलात्कार भएको बताउने उनी काठमाडौंमा आएर न्यायको लागि अनसन बसेको दास्रो पटक हो । तर उनी न्यायको लागि भने लामो सयम देखि भौतारिरहेकी छिन् । १७ वर्षको उमेरमा कक्षा ११ मा पढ्दै गर्दा साथीकोमा पढ्न जाँदा साथीको दाइले नशालु पदार्थ सेवन गराएको बलात्कार गरेको बताउने उनी विभिन्न न्यायीक निकाय र स्थानहरुमा धाउँदै राजधानी काठमाडौंमा समेत अनसन बस्न यो सहित दोस्रो पटक आइपुगेकी छन् ।  

    साथीको दाइले  नशालु पदर्ता खुवाएर बलात्कार गरेपछि कोखमा गर्भ बसको र सोहि बच्चा हाल दुई वर्षको भएको उनी बताउँछिन् । बलात्कृत भएपछि न्यायका लागि सयौँ ढोकाहरु ढकढकाउन पुगेको बताउने उनी जहाँपनि आफूलाई नै गलत देखिाइएको दुखेसो गर्छिन् । प्रहरी प्रशासनले अनुसन्धानको सुरुवातदेखि नै आफ्नो मुद्दालाई कमजोर बनाएर  लगेको उनको आरोप छ । ‘जब म न्यायको लडाइँमा होमिएँ त्यसपछि न्यायलय, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोगबाट मात्रै असहयोग पाइनँ’, उनी भन्छिन् ‘म मेरै घर परिवारबाट तिरस्कृत हुनुपर्‍यो ।’ उनी न्यायको लडाइँमा हुँदा ज्यान मार्ने धम्कीदेखि आर्थिक प्रभलोपन पाएको तर पनि आफू न्यायकाले लागि पछि नहटेको बताउँछिन् ।  

    उनी भन्छिन् ‘परिवार, समाजबाट तिरस्कृत हुँदाहुँदै पनि मैले हिम्मत हारेकी थिइनँ । मलाई विस्वास थियो, अन्तिममा  न्यायलयबाट मैले न्याय पाउनेछु । तर, अन्त्यमा राजनीतिक शक्ति र आर्थिक चलखेलका कारण न्यायालय अपराधीको पक्षमा उभियो ।’ उनका अनुसार धनुषा जिल्ला अदालतले २०७८ माघ २४ गते अपराधीको पक्षमा फैसला गरिदिएको थियो । ‘अपराधीको पक्षमा आएको फैसला मेरो काखमा रहेको बच्चा र मैले रुँदै सुन्नुको बाहेक अर्को विकल्प थिएन’ उनी भन्छिन् ।

    त्यसपछि जिल्ला अदालतको फैसला उपर उनले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेकी थिइन् । उनी आफूलाई न्यायालायको फैसलाप्रति फिटिक्क विस्वास नभएको बताउँछिन् । ‘न्यायालयले पीडितको पक्षमा फैसला गर्छ भन्ने विस्वास नै ममाथि उडेको छ । अहिले दिमागमा मर्ने सोच मात्रै आइरहन्छ’, उनी भन्छिन् ‘तर, यो लडाइँ म एक्ली निहारिका राजपूतको मात्रै होइन, हजारौं निहारिकाहरुको हो भन्ने भएपछि म आमरण अनसनमा बस्ने निर्णयमा पुगेकी छु । म मर्न तयार छु, तर मेरो मृत्युले हजारौं निहारिकाहरुको जीवन बचाउनेछ भन्ने विस्वास छ ।’

     
    सरकारसँगको सहमति कार्यान्वयन नभएपछि दोस्रो पटक अनसनमा

    यस अघि निहारिका न्यायको माग गर्दै जेठ २७ गते देखि आमरण अनसनमा बसेकी थिइन् । राष्ट्रिय महिला आयोगकि सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सरकारी प्रतिनिधिसँग सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट असार तीन गते जुस खाएर अनसन तोडेकी थिइन् । सो समयमा उनी र सरकारबीच पाँच बुँदै सहमति भएको थियो । 

    प्रतिवादी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानूनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र निजको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत् पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत् पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको थियो । सहमति पत्रमा गृह मन्त्रालयमा सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुवरले हस्ताक्षर गरेका थिए ।

    त्यसपछि सहमतिको कार्यान्वयन नभएको भन्दै निहारिकाले साउन २० गते दिउँसो दुई बजेबाट आमरण अनसन सुरु गरेकी हुन् । दोस्रो पटक अनसन बस्न सिंहदरबारको दक्षिण गेट पुगेकी उनलाई प्रहरीले त्यहाँबाट हटाएको थियो । त्यसपछि उनी बसन्तपुरमा अनसन बस्न पुगेकी थिइन् । आफ्नो माग सुनुवाइ नभएको भन्दै उनी सर्वोच्च अदालतको परिसरमा दुई वर्षको छोरा च्यापेर अनसन बस्ने पुगेकी थिइन् । त्यहाँबाट उनलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको थियो । 

    राष्ट्रपति भवनअघि आत्मदाहको प्रयास

    बसन्तपुरमा अनसन बसिरहेकी निहारिका राजपुतले आजमात्र राष्ट्रपति भवनअघि पुगेर आत्मदाहको प्रयास गरेकी छिन् । आत्मदाह गर्ने भन्दै उनले आफ्नो शरीरमा पेट्रोल ख्याएपछि उनलाई प्रहरीले पक्राउ गरेको छ । एक हप्ताको भोको पेटलाई थमथमाउँदै कलिलो बच्चालाई च्यापेर अनसनमा बसेकी उनीसँग हाल भने कुनै महिला अधिकारकर्मी होस् वा अभियान्ता कोहि छैन । यो यात्रामा उनी एक्लो उबिएकी छिन् । सरकारसँगको पाँच बुँदे सहमति कार्यान्वयन हुन्छ भन्ने विश्वासमा उनले पहिलो अनसन तोडेकी थिइन् । 

    न्याय दिलाउनु त परको कुरा हो, उनले आरोप लगाएको व्यक्तिलाई पक्राउ गरेर सरकारले सोधपुछ सम्म पनि गर्न सकेको छैन । कलिलो नानीलाई साथमा लिएर न्यायको लागि घाम र पानी नभनी एउटा साँघुरो टेन्टमा मुखमा पानी पनि नहाली बसेर कमजोर भइसकेकी देखिन्छ । कुनै सिप नलागेपछि उनले आज आत्मदाहसम्मको कदम चाल्ने प्रयास गरेकी छिन् । 

    निहारिकाका मागहरू :

    गएको जेठ २७ गते आमरण अनसनमा बस्दा राखेका मागहरु नै उनले राखेकी छिन् । ती नै मागहरु भएको हुँदा पनि उनको न्यायको निम्ति कुनै कदम  नचालेको स्पष्ट हुन्छ । उनका मुख्यमागहरु निम्नअनुसार रहेका छन् :

    १, मेरो बच्चाको डिएनए (ब्लड ) टेस्ट गरिनुपर्‍यो । काखमा बच्चाा बोकेर जिल्ला अदालतको अन्तिम  फैसला कुरिरहँदा न्यायाधीशहरुले मेरो काखको बच्चा किन देखेनन् ? कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने दुस्साहस न्यायाधीशलाई कसले दियो ? यसको निष्पक्ष छानबिन हुनुपर्‍यो ।

    २, उच्च अदालतमा ४ महिनाअघि नै मुद्दा दर्ता गरे पनि अहिलेसम्म पेशी तोकिएको छैन । म र मेरो बच्चा मर्ने अवस्था आइसक्यो । न्यायलयले मेरो मृत्यु चाहेको हो ? उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्‍यो ।

    ३, मेरो बलात्कारी खुलेआम हिँडिरहेको छ । प्रहरी प्रशासनले उसलाई पक्राउ गरेर पुनः अनुसन्धान गरिनुपर्‍यो । 

    ४, घटनाको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाइएको छ । यस मुद्दालाई पुनः सुरुवातदेखि नै अनुसन्धान गरिनुपर्‍यो । हिजो मेरो फितालो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरु, काखको बच्चालाई मतलवै नगरी फैसला गरिदिने न्यायाधीश पनि अनुसन्धानमा तानिनुप¥यो । उनीहरुमाथि पनि छानबिन हुनुपर्‍यो ।

    ५, मेरो २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरु राज्यले सुनिश्चित गरिदिनुपर्‍यो ।

  • सम्बन्धित विषय:

  • # निहारिका राजपुत

  • पदम भुजेल
    लेखकबाट थप