मङ्गलबारे । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताएका छन् ।
इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद्मा बहुमत जुट्दैमा नागरिकता विधेयक पास गर्न नहुने बताएका हुन् । राष्ट्रिय मुद्दा सबै दलको साझा धारणा हुनुपर्ने उनको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यो प्रमाणीकरण नगरेकोमा आफ्नो यस विषयमा अध्ययन नभएको भन्दै उनले अध्ययन गरेर मात्र धारणा बनाउने बताए । उनले नागरिकताको सवाल नेपालको राष्ट्रिय सहमतिको सवाल भएको बताउँदै अन्य विधेयक जस्तो नभएकाले यसलाई सामान्यरूपमा लिन नहुने बताए ।
उनले राष्ट्रिय सहमतिबिना विभिन्न ढङ्गबाट विधेयक पास गराउने काम नगर्न राजनीतिक दलहरूलाई सुझावसमेत दिए ।जनसाङ्ख्यिक अतिक्रमणबाट हामी जोगिनुपर्ने भन्दै उनले एक÷दुई वटा दलले मात्र सिङ्गो देशलाई समेट्ने कुरामा लाग्न नहुनेमा जोड दिए।
