काठमाडौं । केही वर्षपहिले गाउँघरमा देखाइने विभिन्न जात्रा उत्सवका रुपमा लिइन्थ्यो । जात्रा देखाउने दिन घरायसी कामधन्दा सबेरै सकेर स्थानीय जात्रा हेर्न मानिसहरु पुग्दथे । विशेषगरी महिलाहरु छोराछोरी काखमा च्यापेर त कोही हातमा समाउँदै हस्याङफस्याङ गर्दै जात्रा हेर्न उत्साहित हुँदै जाने गर्दथे ।
हिजोआज भने पहिलेजसो जात्रा हेर्न जानेको उत्साह देखिदैन । काठमाडौं उपत्यकामा पनि पहिले जस्तो जात्राको रौनक छैन । काठमाडौं बाहिर विशेष गरी जात्रा देखाइने जिल्ला पाल्पा हो । पाल्पामा गाईजात्रा, रोपाइँजात्रा, बाघजात्रा लगायतका विभिन्न जात्रा देखाइन्छन् । अहिले भने संस्कृति धान्न जात्रा देखाउने चलन कायमै छ । तर पाल्पामा मात्रै हाइन अरु ठाउँमा पनि अवलोकन गर्ने दर्शकहरु घट्दै गएका छन् ।
नेवारी परम्पराअनुसार जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा र पर्सीपल्ट रोपाइँजात्रा देखाउने प्रचलन छ । दिवंगत भएका आफ्ना परिवारका सदस्यको सम्झनामा जात्रा देखाइन्छ ।
विसं १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानी वियोगमा परेकी थिइन् । राजाले उक्त जात्रामा विभिन्न ठट्टा, चटक र व्यङ्ग पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुरा हेरेर सम्पूर्ण पीडा बिसाएर फोहोरा छोडेर हाँसेकी थिइन् ।
अर्कोतर्फ जात्रामा आएका व्यक्तिहरुले विभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी व्यक्तिहरुको आडम्बर र गरिवका पीडालाई साङ्केतिक रुपमा व्याख्या गर्ने सुरुआत गरेका थिए ।
नेवार समुदायले जात्राको रौनकता हराउँदै गएपनि संस्कृतिलाई भने निरन्तरता दिइरहेका छन् । पहिलेपहिले परिवारका सदस्य घरमै बस्ने, अन्यत्र जाने अवसर पनि कम मिल्थ्यो, वर्षदिनमा एकपटक देखाइने हुँदा समय निकालेर जात्रा हेर्न आउने प्रचलन थियो । तर अहिले भने कामको शिलशिलामा रहँदा प्रविधिको बिस्तारले पहिलेजसो जात्रा अवलोकन गर्ने दर्शकको कमी भएको नेवार समुदायका जानकार बताउँछन् ।
