काठमाडौं । सेयर बजार बुधबार झिनो अंकले घटेको छ । साताको चौथो दिन बुधबार दिनभरको उतारचढावका बाबजुद बजार मापक नेप्से परिसूचक ०.३६ अंकले ऋणात्मक बनेको हो ।
नेप्से ०.०२ प्रतिशतले रातो हुँदा बजारमा १ अर्ब ४० करोड रुपैयाँको सेयर किनबेच भएका छन् । दिनभर २६ हजार १ सय ९९ कारोबारमार्फत ३४ लाख ९७ हजार कित्ता किनबेच भए ।
६९ कम्पनीको मूल्य घटेर १०२ कम्पनीको बढेपनि नेप्से सकारात्मक भने हुन सकेन । एउटामा सर्किट लाग्दा अरु ४ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेका छन् ।
कारोबार रकमका हिसाबमा रिडि पावर कम्पनीको सर्वाधिक १८ करोडको किनबेच हुँदा शिवम् सिमेन्ट दोस्रोमा रह्यो ।
नेप्सेमा करिब स्थिर रहँदा बजार पुँजीकरण २९ खर्ब १४ अर्ब १६ करोड ८४ लाख रुपैयाँ कायम भएको छ ।
पछिल्लो समय नेप्से करिब २२ सय अंक नजिक पुगेर फर्किएको हो । त्यो करिब ३ साता अघिको कुरा हो ।
त्यसअघि १८४८ अंक पुगेको नेप्से बढेर २१०० नजिक पुगेको थियो भने पुनः घटेर १९०० अंकसम्म ओर्लिएको थियो ।
