समाजवादी यात्राः पुरानै शक्तिमा फर्कंदै बाबुराम, ‘बाबुराम जस्तालाई झेलें’ भन्ने प्रचण्ड मख्ख

समाजवादी यात्राः पुरानै शक्तिमा फर्कंदै बाबुराम, ‘बाबुराम जस्तालाई झेलें’ भन्ने प्रचण्ड मख्ख


  • 7.6K
    SHARES
    • भाद्र १, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 11.7K Views

    समाजवादी यात्राः पुरानै शक्तिमा फर्कंदै बाबुराम, ‘बाबुराम जस्तालाई झेलें’ भन्ने प्रचण्ड मख्ख

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच आगामी निर्वाचनमा एउटै चुनाव चिह्नमा लड्ने सहमति भएको छ ।

    images

    आइतबार सत्तारुढ दलहरुका दुई नेताहरुबीच भएको छलफलपछि गोलाकार भित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति भएको हो । आगामी मंसिर चार गते संघीय र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुँदै छ । सो निर्वाचनको लागि एकै चुनाव चिह्नमा लड्ने गरी निर्वाचन आयोगमा दल दर्ता समेत भइसकेको छ ।

    दुई नेताहरुबीच एउटै चुनाव चिह्नमा लड्ने सहमति भएसँगै माओवादीको औचित्य सकिएको घोषणा गरेको करिब आठ वर्षपछि बाबुराम माओवादीमा फर्किने सुरसारमा लागेका छन् । उनी माओवादीसँग गठबन्धन हुँदै पार्टी एकतासम्म पुग्ने तरखरमा देखिएका छन् । २०७३ वैशाख ३ गते संविधानसभाबाट संविधान निर्माण भएसँगै डा. भट्टराईले माओवादीको औचित्य सकिएको बताउँदै सांसद पद र पार्टीको साधारण सदस्यबाट समेत राजिनामा दिएका थिए ।

    त्यतिबेला उनले संविधान निर्माणसँगै पुँजीवादी क्रान्ति सम्पन्न भएकोले बाँकी कार्यभार पुरा गर्न माओवादीमा रहिरहनु पर्दैन र हुँदैन भनेका थिए । त्यसपछि माओवादी छोडेको आठ महिनापछि उनले २०७३ साल जेठ ३० गते दशरथ रंगशालामा भव्यताका साथ नयाँ शक्ति पार्टीको घोषणा गरेका थिए ।

    तर, सो पार्टी बाबुरामले सोचेजस्तो भएन । तत्कालिन समयमा कांग्रेससँग गठबन्धन गरेर एक सिट मात्र सो शक्तिले प्राप्त गरेको थियो । नयाँ शक्ति पार्टी गठन गरेको करिब पाँच वर्ष पछि अर्थात् २०७६ वैशाख २३ गते तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गरेर पार्टीको नाम समाजवादी पार्टी राखियो । त्यसपछि राष्ट्रिय जनता पार्टी (राजपा)सँग पार्टी एकता गरेर पार्टीको नाम जनता समाजवादी पार्टी राखियो ।

    त्यसपछि जसपा पनि फुटेर लोकतान्त्रिक समाजवादी पार्टी अलग भयो । त्यसपछि पनि जसपाबाट डा. बाबुराम भट्टराईको नेतृत्व फुटेर नेपाल समाजवादी पार्टी गठन भयो । हाल यहि नेपाल समाजवादी पार्टीलाई पनि लिएर बाबुराम भट्टराई गठबन्धन हुँदै माओवादी केन्द्रसँग पार्टी एकतासम्म पुग्ने चर्चा भएको छ ।

    वि.सं. २०३९ सालमा मोहन विक्रमको चौम पार्टीको सदस्य लिएर कम्युनिष्ट पार्टीमा सक्रिय रहेका डा. बाबुराम भट्राईमाथि अस्थिरताको ट्याग लाग्दै आएको छ । चौममा केहि समय सक्रिय रहेपछि उनी २०४८ सालमा नेकपा एकता केन्द्रमा मिसिए ।

    त्यसपछि २०५१ सालबाट माओवादीमा सक्रिय भएका उनले संविधान सभाबाट संविधान निर्माण नहुँदासम्म सोहि पार्टीमा रहेर सक्रिय भूमिका निर्वाह गरे । मंगलबार दुई नेता प्रचण्ड र बाबुरामबीच भएको छलफलपछि नेता भट्राईले नेसपा पनि गठबन्धनको एउटा अंग भएकोले सोहि अनुसार अगाडि बढ्ने बताएका थिए ।

    प्रचण्ड पनि चाहन्छन् बाबुरामको साथ
    पटकपटकको विभाजन खेपेर आएको माओवादी केन्द्र पहिलेको तुलनामा निकै कमजोर अवस्थामा छ । ६२/६३ जनआन्दोलनपछि देशको शक्तिशाली पार्टीको रुपमा उदायको माओवादी केन्द्र धेरै पटक विभाजित हुँदै आएको छ । संविधान सभाबाट संविधान बनेको छ महिना नबित्दै बाबुराम भट्राईले माओवादी केन्द्र छोडेर नयाँ शक्ति पार्टी गठन गरेपछि माओवादी केन्द्र थप कमजोर बन्यो ।

    त्यसपछि एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको केहि समयमा नेकपा छुट्टियो त्यसमा पनि माओवादी केन्द्रका रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका नेता एमालेमा नै बसे जसले गर्दा पनि माओवादी थप कमजोर बन्यो ।

    २०६४ सालको आम निर्वाचनमा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३१ लाख ४५ हजार पाँच सय १९ अर्थात् ३०.५२ प्रतिशत मत प्राप्त गरेको थियो । त्यस्तै समानुपातिकतर्फ ३१ लाख ४४ हजार दुई सय चार अर्थात् २०.२८ प्रतिशत मत प्राप्त गरेको थियो । त्यसपछि २०७० सालको निर्वाचनमा पहिलेको तुलनामा धेरै घटेर प्रत्यक्षतर्फ १६ लाख नौ हजार एक सय ४५ अर्थात् १७.७९ प्रतिशत मत मात्र प्राप्त गरेको थियो भने समानुपातिक तर्फ १४ लाख ३९ हजार सात सय २६ अर्थात् १५.२१ प्रतिशत मत प्राप्त गर्यो ।

    २०७४ सालको निर्वाचनमा त्यसबाट पनि घटेर प्रत्यक्षतर्फ १५ लाख १० हजार सात सय ६० अर्थात् १५.३९ प्रतिशत मत प्राप्त गर्यो समानुपातिक तर्फ भने  १३ लाख तीन हजार सात सय २१ अर्थात् १३.६५ प्रतिशत मत प्राप्त गरेको थियो ।

    यसरी माओवादी केन्द्रको मत प्रत्येक निर्वाचनमा ओरोलो लाग्दो गतिमा रहेको छ । त्यसैले पनि प्रचण्डले बाबुराम भट्टराईको साथ चाहिरहेको देखिन्छ । मंगलबार बाबुरामसँगको छलफलपछि अध्यक्ष प्रचण्डले बाबुराम र आफू एकै ठाउँमा उभिनुको ठूलो अर्थ भएकोले अब कसैले रोकेर नरोकिने बताएका थिए । पार्टी एकताको सहमति नभएपनि निर्वाचनपछि माधव नेपाल सहितको एउटै समाजवादी केन्द्र बनाउने सहमति भएको उनले उल्लेख गरेका थिए ।

    प्रचण्ड र बाबुराम एकै ठाउँमा उभिनुले कम्युनिष्ट आन्दोलनमा मात्र नभएर नेपालको राजनीतिमा ठूलो महत्व राख्ने उनको भनाइ थियो । बाबुराम भट्टराई पनि धेरैतिर घुमेर चाहेजस्तो उपलब्धि हात पार्न नसकेको समयमा आफ्नो पुरानो घर मै पुगेर आफ्नो भारी बिसाउने सोचमा रहेको देखिन्छन् । यसर्थ पनि माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच गठबन्धन हुँदै पार्टी एकिकरणसम्म पुग्ने आँकलन धेरैले गरेको छन् ।

    तर प्रचण्ड र बाबुरामबीचको यो गठबन्धनको विषय भने समाजवादी केन्द्र बनाउने एउटा असफल प्रयास पछि बनेको हो । सत्ता गठबन्धनमा रहेका वामपन्थीहरु मिलेर समाजवादी केन्द्र निर्माण गरी एउटै घोषणा पत्र र चुनाव चिह्नमा चुनाव लड्ने विषयमाको कसरतमा नेताहरु लागेका थिए ।

    समाजवादी केन्द्र बनाउन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहमत भएको थिए भने बाबुराम भट्टराईले पनि यस विषयमा सहमति जनाएको थिए । साथै सत्ता बाहिर रहेका वामदेव गौतन पनि यसको लागि सकरात्मक देखिएका थिए । त्यस्तै एमालेबाहेक सबै कम्युनिष्टहरुलाई यसमा सहभागि गराइने कुराको पनि चर्चा भएको थियो । शीर्ष नेताहरुले नै सत्तारुढ पाँच दलीय गठबन्धनभित्र उपगठबन्धन हुने सार्वजनिक रुपमै बताएका थिए ।

    बाबुराम र प्रचण्ड एउटै चुनाव चिह्नबाट निर्वाचन लड्ने सहमति गरेसँगै वामदेव गौतमले पनि एउटै चिह्नबाट निर्वाचन लड्ने निर्णय गरेका छन् । निर्वाचन आयोगमा दल दर्ता पछि नेता गौतमले आफूले निर्वाचन जित्को लागि माओवादीसँग एउटै निर्वाचनमा लड्ने निर्णय गरेको बताएका थिए ।

    केही समय अगाडि मात्र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान पार्टीको घोषणा गरेका थिए । पार्टी घोषणा गरेको केहि समयमा नै उनको पार्टीमा विवाद सिर्जना भएको थियो । आगामी निर्वाचनमा भने माओवादी र आफूले एउटै चिह्नबाट चुनाव लड्ने र प्रत्यक्षतर्फ उम्मेदवारी दिने उनले बताएका छन् ।

    यस आधारमा पनि निर्वाचपछि नेपाल समाजवादी पार्टी, माओवादी केन्द्र सहित वामदेव गौतम पनि एकै ठाउँमा उभिने संकेत देखिएको छ । मुख्यतया बाबुराम र आफूबीच एउटै निर्वाचन चिह्न लिएर निर्वाचन लड्ने सहमति भएसँगै प्रचण्ड उत्साहित देखिएका छन् ।

    ती तिनै प्रचण्ड हुन् जसले बाबुरामले पार्टी छाडेपछि 'बाबुराम जस्तालाई झेलें' भन्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेका थिए ।