काठमाडौंः नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि संयोजन समिति गठन गर्ने भएको छ । बुधबार पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय समिति बैठकले पार्टी एकताका लागि संयोजन समिति गठन गर्ने निर्णय गरेको हो ।
पार्टी एकता संयोजन समिति बनाउने वा कार्यगत एकताका विषयमा छलफल अघि बढेको छ । दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका कार्य प्रक्रियालाई अघि बढाउने सहमति भएको छ ।
बैठकमा संयोजन समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव प्राप्त भएको छ । बैठकले भदौ ९ गते पार्टी स्थापना दिवस मनाउने निर्णय गरेको छ ।
