- देवेन्द्र बस्नेत/तेस्रोआँखा
काठमाडौं,मंसिर २४ । चाउरिएको अनुहार । हातमा सहारा लौरो । लौरोको भरमा ‘कुप्रो’ शरिरलाई कांग्रेस महाधिवेशन स्थलमा डुलाइरहेका थिए बैतडीका ८६ बर्षिय बिरसिंह भण्डारी । चार दिन अघि बैतडीबाट काठमाडौं हानिएका थिए उनि । काठमाडौँ यात्राको अन्तर्य अरु केही हैन । कांग्रेसको महाधिवेशन हेर्ने अर्थात उनकै शब्दमा भन्दा ‘कुर्सीको लडाईँ’ हेर्न काठमाडौँ आईपुगेका अरे उनि । महाधिवेशन प्रतिनिधि हैनन् उनि । मात्रै उनलाई काठमाडौंमा कुर्सीको लडाइँ हेर्नुछ ।
त्यो लडाइँ उनका लागि भृकुटिमण्डपमा सुरु भएको छ । ‘कुर्सीको लडाइँ हेर्नका लागि मात्रै बैतडीबाट म यहाँ आएको हुँ,’तेस्रोआँखासंग उनले भने ‘कसरी लड्दा रहेछन् हेरेर फर्किन्छु ।’
कांग्रेसभित्रको अन्तरसंघर्षका धेरै खबर बैतडीमा सुने उनले । कांग्रेसी भएकै कारण आफ्नो पार्टीभित्रको यो ‘कलह’ कहिल्यै रुचाएनन् उनले । बैतडीमा पार्टी भित्रको संघर्ष सुनेका उनलाई प्रत्यक्ष हेर्नु थियो । कसरी लड्छन् रु कांग्रेसीहरु एकापसमा । यहि दृष्य प्रत्यक्ष देख्न उनि भृकुटिमण्डपमा बिहानै देखि हाजिर लगाईसकेका थिए । कांग्रेस भित्र ककसको लडाईँ हेर्न आउनु भएको रु उनले व्यक्ति ईंगित गरेनन् । सिंगो पार्टीको समस्यालाई सुनाउँदै भने ‘कांग्रेसको शत्रु कांग्रेस छ , ब्यक्ति को को लडे भनेर कसरी भन्नु रु लडाईँ त ब्यक्तिको भन्दा पनि सिस्टमको हो ।’
उनले सहि पनि कसैलाई देखेका छैनन् । उनले थपे ‘मैले आँफैले एउटा औँलो अर्कोलाई ठड्याई राख्या छु, अरु औँला आँफुतिर पारिरहेको छु, भनेपछि मैले आँफूलाई सहि भन्दै गर्दा पनि मैले आँफैलाई गल्ती देखाईराख्या हुन्छु, अनि कस्लाई सहि कस्लाई गलत भन्ने ?’
उनको बुझाइमा कांग्रेस बहुदलीय व्यवस्थाको ‘मसिहा’ पार्टी हो । तर बहुदल र आफूलाई उस्तै देख्छन् उनि । उनले भने ‘मलाई पनि कसैले देख्दैन, अनि बहुदललाई पनि कसैले देखेको छैन, बहुदल र म एकै हौँ ।’ उनले कुर्सीको लडाइँ हेर्न मात्रै हैन, आफूलाई नेताहरुसामु देखाउनु छ । ‘मलाई नेताहरुले देखुन्,मैले मात्रै उनिहरुलाई हेर्ने हैन,’ उनले भने ‘मेरो मुख कहिले हेर्ने हुन् त मेरा पार्टीका नेताहरुले ?’
त्यसो त, शेरबहादुर देउवालाई प्रिय मान्ने उनको अनुहार देउवाले नदेखेको भने हैन रहेछ । तर देउवा निकटस्थ सांसदले नै उनको अनुहार हेरिदिन्नन् । उनको दुखेसो यो छ । ‘देउवाले अनुहार हेरिसकेका छन्, तर मेरो अनुहार त बैतडीका सांसदले हेर्नु पर्ने हो,’ उनले भने ‘देउवाले मेरो अनि बैतडीका जनताको अनुहार हेरेर बजेट दिन्छ, तर त्यहाँको सांसदले बजेट अन्तै लगिदिन्छ, मेरो दुश्मन भनेको त , त्यहाँको सांसद हो ।’ कसरी सांसद हुने र कसरी काठमाडौँमा बसोबास गर्ने रु भन्ने चिन्ता कांग्रेसी सांसदहरुमा रहेको भन्दै यस्तै नियत बोकेका सांसदहरुले ग्रामिण भेगको बिकास निर्माणलाई वेवास्तानै गरेको दुखेसो उनको छ।
२०४९ सालमा तत्कालीन गाउँविकास समितिको उपाध्यक्षमा चुनाव लडेका उनले बहुदलीय ब्यवस्थामा जोडबल गरिरहे । उनका अनुसार कांग्रेसको पुरानो पुस्ताले बहुदललाई बुझ्यो तर अहिलेको युवा पुस्ताले बहुदललाई चिनेकै छैन । यसर्थ कांग्रेसमा पुरानो पुस्ता कायम हुनुपर्छ भन्ने चिन्तनमा दृढ छन् उनि । कांग्रेसले बहुदलीय ब्यवस्थालाई आत्मसाथ गर्नुपर्ने सुझाव उनले दिए । बिपीको समाजबादलाई त्याग्ने पार्टीका रुपमा कांग्रेसलाई हेरिरहेका उनले भने ‘कांग्रेसले धेरै राम्रा कुरा त्यागिसक्यो ।’
महाधिवेशनको घोषणा पत्रमा एउटा बुँदा सुन्न आतुर देखिए उनि । त्यो हो ‘सबैधानिक राजतन्त्र ।’ यो नभए राष्ट्र हराउँछ भन्ने बिपीको भनाई रहेको भन्दै उनले भने ‘बिपीको यो भनाइलाई कांग्रेसका युवा नेताहरुले मनन् गर्नुपर्छ ।’ कांग्रेसलाई बलियो बनाउनका लागि राष्ट्रिय नेता गतिलो हुनुपर्ने उनि देख्छन् । उनको नजरमा राष्ट्रिय नेता शेरबहादुर देउवानै हुन् । तर उनको व्यक्तिगत स्वभावलाई सुधार्नु पर्ने उनि देख्छन् । उनका अनुसार देउवा अहिले कुर्सी मोहमा जगडिएका छन् । ‘बिपीले राम्ररी चिने जानेको शेरबहादुर देउवानै मेरो लागि राष्ट्रिय नेता हो,’ उनले भने ‘तर अहिले कुर्सिका लागि लडिराखेका छन् ।’ देउवालाई जिल्ला तहका नेता कार्यकर्ताहरुले घच्घच्याएर सहि बाटोमा ल्याउने पर्ने उनि देख्छन् ।
