काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक राष्ट्रको हितमा रहेको बताएका छन् । कृष्ण जन्माअष्टमीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री खाणले नागरिकता विधेयक राष्ट्रको हितमा रहेको बताएका छन् ।
उनले प्रतिनिधि सभाबाट दोस्रो पटक बहुमतले पारित नागरिकता ऐन संशोधन विधेयकले राष्ट्रियतालाई थप बलियो बनाउने पनि बताए । वि. सं. २०७२ सालमा संविधान बनेपछि कानुन बनाउन नसक्दा नागरिकता पाउन नसकिएका युवाहरूलाई नागरिकता दिने उद्धेश्यसहित विधेयक ल्याइएको उनले बताए ।
’नेपाली नागरिकता भएका बाबुआमाका छोराछोरीलाई नेपाली नागरिकता दिनु पर्ने थियो’, उनले भने, ’तर, २०७२ सालमा संविधान जारी भएपछि कानुन बनाउन नसकिएकाले नागरिकता दिन सकिएको थिएन। अहिले सरकारले नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरीलाई नमगरिकता दिन विधेयक अगाडि बढाएको हो।’ विधेयकको पक्षमा सबैले साथ दिनु पर्नेमा निर्वाचन नजिकिएकाले केही दलहरुले नभएका कुरा प्रचार गरेको पनि उनले बताएका छन् ।
