• ट्रेण्डिङ्ग :
बिक्रीबाट ३८ करोड ६७ लाखभन्दा बढी रकम भित्रियो

बिक्रीबाट ३८ करोड ६७ लाखभन्दा बढी रकम भित्रियो


  • 677
    SHARES
    • कार्तिक २३, २०८३ आइतबार
    • ४८ मिनेट अघि
    • 1.0K Views

    बिक्रीबाट ३८ करोड ६७ लाखभन्दा बढी रकम भित्रियो

    मुस्ताङ , कात्तिक २२ गते । दसैं–तिहारमा मुस्ताङबाट १५ हजारभन्दा बढी भेडा–च्याङ्ग्रा बाहिरिएका छन् । जिल्लाको पाँचवटै स्थानीय तह, चीनको तिब्वत तथा कर्णाली प्रदेशको डोल्पा, मुगु र हुम्ला जिल्लाबाट च्याङ्ग्रा १३ हजार ३७ र भेडा २३ सय २१ गोटा निकासी भएको हो । 

    images

    यस वर्ष मुस्ताङका पशुपालक कृषकले ७ हजार ९ सय ९४ च्याङ्ग्रा, १ हजार ३ सय ३७ भेडा (च्यालुक) र ६ सय ६५ रोमा (च्याङ्ग्री) बिक्री गरेका छन् । त्यसैगरी डोल्पाबाट ३ हजार ८६४, मुगुबाट ५६०, जुम्लाबाट ५ सय र तिब्बतबाट कोरला नाका हुँदै ४ सय ३८ च्याङ्ग्रा मुस्ताङ भित्रिएका थिए । 

    कर्णाली प्रदेशको जिल्लाबाट मुस्ताङ भित्रिएका भेडा–च्याङ्ग्रा जोमसोम तथा जिल्ला बाहिर लगेर बिक्री गर्ने गरिन्छ । दसैंका लागि १३ हजार ९ सय ५० वटा भेडा–च्याङ्ग्रा बाहिरिएका थिए ।

    कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले चाडपर्वलाई लक्षित गरी मुस्ताङबाट फाटफुट बाहेक करिब सबै बाहिरिएको बताउनुभयो । कार्यालय प्रमुख डा. अर्यालले भन्नुभयो, ‘‘प्राकृतिक विपत्तीले कृषक र ब्यवसायीलाई सास्ती भयो, यसपटक अनुमान गरेभन्दा केही कमी भए पनि कृषकले राम्रो मूल्य पाएका छन् ।’’

    यस बर्ष हिमपात र बाढीपहिरोका कारण कर्णाली प्रदेशका जिल्लाबाट तुलनात्मक रुपमा कम भेडाच्याङ्ग्रा आयात भएको  कार्यालय प्रमुख डा. अर्यालको भनाइ छ । गत आर्थिक बर्ष २०८२–८३ मा १५ हजार ६ सय वटा भेडाच्याङ्ग्रा बिक्री गरी ३६ करोड ५० लाख रुपियाँ मुस्ताङमा भित्रिएको थियो । 

    गत बर्षको तुलनामा २ सय ४२ गोटा भेडाच्याङ्ग्रा कम बिक्री भए पनि बजारमा ब्यापारीको प्रतिस्पर्धाका कारण कृषकले मुल्य बढी पाएका छन् । मुस्ताङका किसानले गोठबाट र आफैंले बजारमा लगेर बेच्ने गरेका छन् । 

    मुस्ताङका पशुपालक कृषकले रोज्जा, रोमा तथा सानाठुला भेडा–च्याङ्ग्राको उमेर र तौलअनुसार प्रतिगोटा २८ हजारदेखि ५२ हजार रुपियाँसम्म बिक्री गर्ने गरेको पाइएको छ । तिहार आसपासमा गोठमा बिक्री गर्न योग्य भेडा–च्याङ्ग्रा बिक्री गरी बाँकी गोठमा राखेर बेंसी झर्ने गरेका छन् । 

    मुस्ताङमा लो–घेकर दामोदरकुण्ड, लोमान्थाङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका पकेट क्षेत्रको रुपमा चिनिन्छ । मुस्ताङका भेडाच्याङ्ग्रा पालक कृषक तथा छिमेकी जिल्ला म्याग्दी, कास्की, काठमाडौंसहित देशको विभिन्न जिल्लाबाट गएका ब्यापारीले बजारमा लगेर बिक्री गर्नेगरेका छन् । 

    उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरका कृषक कर्मा गुरूङले न्यूनतम ५ लाख देखि डेढ करोडसम्म एउटै कृषकले भेडाच्याङ्ग्रा बिक्री गरेको बताउनुभयो । 

    सामान्यतः एउटा भेडा–च्याङ्ग्रालाई मासु खानयोग्य बनाउन ३ वर्षसम्म पाल्नुपर्ने अवस्थामा चरन, खोप तथा गोठालोसहित अन्य खर्च हुन्छ । रोज्जा च्याङ्ग्रा तयार गर्न करिब ४ बर्ष लाग्छ । समुन्द्रि सतहदेखि ४५ मिटर नजिक रहेका चरन क्षेत्रसम्म पुग्ने च्याङ्ग्रालाई बर्षेनी हिउँ चितुवासहित बन्यजन्तुको समेत आक्रमणबाट जोगाएर पाल्नुपर्ने बाध्यता रहेको कृषक आङ्याल गुरूङले बताउनुभयो । 

    कृषक गुरूङले भन्नुभयो, ‘‘खुल्ला चरन क्षेत्रमा बन्यजन्तु र हिमपातबाट जोगाउन सकस छ, बजारमा मागअनुसार उत्पादन नै गर्न सकिदैन ।’’ प्रतिकुल मौसमका कारण गत बर्षको तुलनामा उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाबाट १५ सय भेडाच्याङ्ग्रा कमी आएकाले बजारमा मूल्य आकाशिएको छ । 

    तिहारका लागि भित्रिएका रोज्जा च्याङ्ग्राको ३८ देखि ४३ हजार रुपियाँसम्म बिक्री भइरहेको म्याग्दीमा ब्यापारी प्रकाश पौडेलले बताउनुभयो । तिहारमा पोखरा, काठमाडौंभन्दा पनि छिमेकी जिल्ला म्याग्दी, बागलुङका ब्यापारीले धेरै च्याङ्ग्रा ल्याएका छन् । समुन्द्रि सतहदेखि ६ हजार मिटरसम्मको उच्च हिमाली क्षेत्रमा पाइने र कठोर चिसो तथा कम अक्सिजनयुक्त वातावरणमा हुर्किने, लेकाली जडीबुटी खाने भएकाले दसैँ–तिहारजस्ता पर्वमा पोसिलो मासुका रूपमा हिमाली च्याङ्ग्राको माग बढी हुने गरेको छ । 


    तेस्रो आँखा