• ट्रेण्डिङ्ग :
‘कुहिने फोहर काठमाडौंमै व्यवस्थापन गर्छु’ भन्ने बालेनले अझै ठाउँको निधो गर्न सकेनन्  

‘कुहिने फोहर काठमाडौंमै व्यवस्थापन गर्छु’ भन्ने बालेनले अझै ठाउँको निधो गर्न सकेनन्  


  • 6.3K
    SHARES
    • भाद्र ४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.7K Views

    ‘कुहिने फोहर काठमाडौंमै व्यवस्थापन गर्छु’ भन्ने बालेनले अझै ठाउँको निधो गर्न सकेनन्  

    काठमाडौं । काठमाडौं महानगरपालिकाले घरघरबाट निस्किने कुहिने फोहर यहीँ नै व्यवस्थापन गर्ने भने पनि हालसम्म स्थान पहिचान हुन सकेको छैन । प्रमुख बालेन्द्र साहले कुहिने फोहर यहीँ व्यवस्थापन गर्ने घोषणा गरेपनि हालसम्म कार्यान्वयन हुन नसकेको हो । सम्भावित पाँच स्थानको पहिचान गरे पनि स्थानीयबासिन्दा सकारात्मक हुन नसक्दा थप प्रक्रिया अघि बढ्न नसकेको कामपाले जनाएको छ ।

    images

    कामपाका प्रमुख साहको सचिवालय सदस्य सुनील लम्सालका अनुसार अहिलेसम्म विभिन्न पाँच स्थानमा ५० देखि १ सय ५० रोपनी जग्गाको पहिचान भएको छ । उक्त विषयमा स्थानीय सकारात्मक हुन नसकेका उनको दाबी छ । स्थानीयबासिन्दालाई कुहिने फोहरबाट मल उत्पादन गर्दा हुने फाइदा र त्यसको सकारात्मक पक्षका बारेमा जानकारी दिन आवश्यक रहेको लम्सालले  जनाएका छन् ।   

    स्थानीय सकारात्मक नभएकै कारण गत साउनको अन्तिम सातादेखि कीर्तिपुरमा केही कुहिने फोहर व्यवस्थापन गरिने भने पनि काम सुरु हुन सकेको छैन । यता कामपाले भने तीन महिनापछि हानिकारक फोहर बञ्चरेडाँडामा नफाल्ने गरी कार्य अघि बढाइएको दाबी गरेको छ । दुई महिनादेखि विसर्जन हुन नसकेको काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनको सम्बन्धमा बुधबार काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साबिकबमोजिम फोहर व्यवस्थापन हुन थालेको छ ।

    पटकपटकको सहमति कार्यान्वयन नगरेको भन्दै स्थानीयले समयसमयमा अवरोध गर्दा काठमाडौँमा फोहरको डंगुर थुप्रने गरेको छ । सहमतिपछि पनि स्थानीयले अवरोध गर्ने गरेकाले हालको सम्झौता पनि दीर्घकालीन नहुने सम्भावना नदेखेर कामपाले अन्य स्थानमा पनि फोहर व्यवस्थापन गर्न स्थान पहिचानको काम जारी राखेको छ ।  सहमतिबमोजिम स्थानीयले फोहर फाल्न अवरोध नगरे, पानी परेर बाटो बन्द नभए आगामी १० दिनभित्र यसअघि थुप्रिएको सबै फोहर अन्तिम व्यवस्थापनस्थलसम्म पुर्याउने कामपाको योजना छ । हाल कामपासहित अन्य १७ स्थानीय तहले फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा गर्ने गरेका छन् ।