काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले अल्फाबिटा कम्लेक्समा डोजर चलाएर केही नबिराएको बताएका छन् ।
अल्फाबिटा कम्लेक्समा डोजर चलाएको केही समयपछि सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आफूले डोजर चलाएर केही नबिराएको बताएका हुन् । उनले सबैले बुझेर अवैधानिक रुपमा बनाइएका संरचनालाई हटाउन पनि आग्रह गरेका छन् ।
बिहीबार बिहान बानेश्वर क्षेत्रको अनुगमन गरेका मेयर बालेन शाहले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए । सोही क्रममा अल्फाबिटाका प्रतिनिधिसँग बालेन शाहको सवाल-जवाफ भएको थियो । त्यसपछि मेयर शाहसहितको टोली पुगेर अवैध रुपमा रहेको फर्मेसी खाली गर्न लगाएर महानगरको संरचनामा डोजर चलाएका थिए ।
काठमाडौं महानगरले अवैध संरचना हटाउने अभियान चलाएको छ । हिजो (बुधबार) मात्र महानगरले सुन्धारास्थित काठमाडौं मलअगाडिको र खिचापोखरीनजिकैको आरबी कम्प्लेक्समा अन्डरग्राउन्ड पार्किङ बन्द गरेर व्यापारिक प्रयोजन गरेको संरचना भत्काएको थियो । त्यस्तै सोमबार महानगरले नयाँ बानेश्वरमा रहेको अवैध संरचना भत्काएको थियो । महानगरले ३५ दिनभित्र अवैध संरचना हटाउन सूचना जारी गरेको थियो । सोही सूचनाको बेवास्ता भएको भन्दै महानगरले अवैध संरचनामा डोजर चलाउँदै आएको छ ।

