काठमाडाैं । संघीय र प्रदेशसभाको निर्वाचन नजिकीएसँगै दलहरुले उम्मेदवार दाबी गर्ने, सिफारिस गर्ने, चयन गर्ने लगायतका कामहरुलाई तिब्रता दिन थालेका छन् । एमाले एक्लै भएको कारणले टिकटलाई बाँडफाँड गर्न आन्तरिक रुपमा मात्र मिलाउनु पर्ने भएकोले उसलाई केहि सहज देखिन्छ । तर पाँच दलीय गठबन्धन भएको कारणले पाँच दलीय गठबन्धनभित्र टिकटको बाँडफाँड गर्न तथा नेताहरुलाई व्यवस्थापन गर्न निकै कठिन हुने देखिन्छ ।
हालचालै मात्र ओखलढुंगाको प्रतिनिधिसभा सदस्यको लागि माओवादी केन्द्रले दाबी गरेको छ । माओवादी केन्द्रले सत्ता गठबन्धनबाट राम कार्कीलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने चर्चा चलेको हो । पूर्व सञ्चारमन्त्री समेत रहेका कार्की ०७४ सालको संघीय निर्वाचनमा झापा १ बाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा १ बाट निर्वाचन लड्ने घोषणा गरिसकेका छन् । महामन्त्री शर्माले सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारी गरेपछि माओवादी केन्द्रले ओखलढुंगाबाट राम कार्कीलाई उठाउन दाबी गरेको हो ।
ओखलढुंगामा प्रतिनिधि सभाको एक निर्वाचन क्षेत्र रहेको छ । त्यस्तै प्रदेश सभाका दुई निर्वाचन क्षेत्र रहेका छन् । गएको ७४ सालको निर्वाचनमा ओखलढुंबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडा एमालेका यज्ञराज सुनुवारसँग पराजित भएका थिए । ७४ मा नेकपा र कांग्रेस एक्लै निर्वाचन लडेको कारणले पराजय बेहोरेका खतिवडा यसपाली एमाले एक्लैलाई गठबन्धनको तर्फबाट उम्मेदवार बनेर हराउने लक्ष्यमा छन् । तर गठबन्धनले खतिवडालाई टिकट नदिएर कार्कीलाई टिकट दिएमा खतिवडाले अन्य कुनै स्थान रोज्नुपर्ने देखिन्छ ।
खतिवडा अन्य क्षेत्रबाट निर्वाचन लड्ने मनस्थितिमा छैनन् । गत वैशाख तीसको स्थानीय तह निर्वाचनमा राम्रो मतपरिणाम ल्याएको कारणले पनि कांग्रेसले सहजै ओखलढुंगा नछोड्ने देखिन्छ । तर कार्कीलाई गठबन्धनको तर्फबाट टिकट दिने चर्चा भएसँगै ओखलढुंगा कांग्रेस तरंगीत बनेको छ । ओखलढुंगा राम कार्कीको पनि गृह जिल्ला भएको कारणले माओवादीले झापा १ नपाएको खण्डमा ओखलढुंगाको लागि संघर्ष गरेको हो ।
३२ हजार मत पाएको कांग्रेसले ६ हजार मत पाएको माओवादीलाई सहजै स्वीकार्ला ?
गएको वैशाख तीसको स्थानीय तह निर्वाचनको मतपरिणामलाई हेर्दा कांग्रेस एक्लैको मत एमालेको भन्दा बढी छ । एक नगरपालिका र सात गाउँपालिका गरी आठस्थानीय तह रहेको ओखलढुंगामा गएको वैशाख तीसको स्थानीय तह निर्वाचनमा कांग्रेसले चार स्थानीय तह जितको थियो । त्यस्तै एमाले, माओवादी र जसपाले एक एक स्थानीय तह जितेका थिए भने स्वतन्त्रले उम्मेदवारले एक स्थानीय तह जितेको थियो । त्यस्तै पालिका उपप्रमुख/उपाध्यक्ष भने एमाले र कांग्रेसले चार/चार जितेका थिए ।
आठ स्थानीय तहका ७५ वडामध्ये स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै ४६ वडामा कांग्रेसले विजयी प्राप्त गरेको थियो । दोस्रो पार्टीको रुपमा स्थापित एमालेले १९ वडा र तेस्रो पार्टीको रुपमा स्थापित माओवादी केन्द्रले ८ वडामा जित हात पारेको थियो । त्यस्तै जसपाले २ वडामा विजयी प्राप्त गरेको थियो । यस आधारमा पनि कांग्रेस ओखलढुंगामा राम्रो अवस्थामा देखिन्छ । माओवादी केन्द्र भने एमाले भन्दा निकै कमजोर अवस्थामा रहेको छ । अन्य सत्तारुढ पाँच दलीय गठबन्धनका दहलरु पनि स्थानीय तहको मत परिणाम अनुसार खासै प्रभाव देखिन्न । तर गठबन्धन भएको उनीहरुले पनि जितलाई केहि सुनिश्ति गर्न सहयोग गर्ने देखिन्छ ।
स्थानीय तहको मतपरिणाम अनुसार पनि कांग्रेस एक्लै निर्वाचनमा जाँदा पनि सहज अवस्थामा रहेको छ । जिल्लाका आठ स्थानीय तहका ७५ वडामध्ये कांग्रेसले उम्मेदवारी दिएका ७२ वडाध्यक्ष पदका उम्मेदवारले प्राप्त गरेको कुल मत ३२ हजार ७ सय १७ छ । त्यस्तै एमालेबाट उम्मेदवारी दिएका ७३ वडाध्यक्षका उम्मेदवारको कुल मत २९ हजार ९ सय ८६ छ । तर माओवादी केन्द्र ७५ मध्ये ५० वडाध्यक्ष पदमा उम्मेदवारी दिँदा पाएको मत छ हजार ९ सय १६ छ । जिल्लाभर जसपाका वडाध्यक्ष पदका उम्मेदवारले २ हजार १ सय ४ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादी पार्टीका वडाध्यक्ष पदका उम्मेदवारले पाएको मत ५ सय २१ छ ।
एमालेले पाएको मतको तुलना गर्दा माओवादीको मत एमालेको भन्दा २३ हजार आठ सय ७० ले कम छ । यस आधारमा माओवादीलाई जिताउँन कांग्रेसले आफूले पाएको ३२ हजार मतमध्ये कम्तिमा पनि २४ हजार माओवादीमा खन्याउनुपर्छ । तर बाँकी कांग्रेसको मत एमालेतर्फ गयो भने त्यसले मात्र अपुग हुन्छ । गठबन्धनका अन्य दलको पनि तीन हजारको हाराहारीमा मत रहेको छ । त्यो मत कता जान्छ भन्ने विषयले पनि कसको जिते भन्ने कुरामा भूमिका खेल्ने देखिन्छ । तर छ हजारको हाराहारीमा मत पाएको माओवादीलाई ३२ हजार मत पाएको कांग्रेसले आफ्नो सबै मत खन्याएर काकीलाई जिताउन तयार बनाउन भने सहज नभएको नेताहरु बताउँछन् । कांग्रेस एक्लैको पनि राम्रो मत भएकोले कांग्रेसले ओखढुंगामा प्रतिनिधिसभा नछोड्ने कांग्रेसका नेताहरुले बताउँदै आएका छन् ।
प्रतिनिधिसभा माओवादीले पाए प्रदेशको दुबै क्षेत्रमा कांग्रेसको दाबी
गएको ७४ को निर्वाचनमा कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको एक क्षेत्र र प्रदेशसभाको दुई निर्वाचन क्षेत्र गरी सबै गुमाएको थियो । सो निर्वाचनमा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका यज्ञराज सुनुवार विजयी भएका थिए । त्यस्तै प्रदेश सभा ‘ख’ मा नेकपा माओवादी केन्द्रका मोहन बहादुर खड्का र प्रदेश ‘क’ मा नेकपा एमालेका अमिरबाबु गुरुङ विजयी भएका थिए । अघिल्लो निर्वाचनमा सबै गुमाएको कारणले कांग्रेसले यसपटक तीनै स्थानमा बाजी मार्न चाहन्छ । तर प्रदेश ‘ख’ माओवादीले जितेको हुँदा प्रतिनिधिमा कार्कीलाई दिएपनि जितेका स्थान भने माओवादी केन्द्रले कुनै हालतमा नछोड्ने देखिन्छ ।
माओवादीले भने प्रतिनिधिसभा पाए प्रदेशसभा दुबै छोड्ने सोचमा देखिन्छ । कांग्रेसका रामहरी खतिवडा पूर्व संविधानसभा सदस्य रहेको हुनाले र उनलाई ओखलढुंगा नै सहज हुने भएकोले उनले ओखलढुंगा नछोड्ने देखिन्छ । कांग्रेस ओखलढुंगाको गठ भएकोकारणले प्रतिनिधिसभा सदस्य ओखलढुंगाबाट छोड्न नसकिने नेपाली कांग्रेस ओखलढुंगाका एक नेताले जानकारी दिए । कांग्रेसभित्रै प्रदेश र प्रतिनिधिसभा दुबैमा दाबेदारहरु धेरै रहेकोले व्यवस्थापन गर्न कठिने हुने अवस्था रहेकोले थप माओवादीलाई प्रतिनिधिसभा दिँदा पार्टीलाई सुन्तुष्ट बनाएर लान नसकिने उनको भनाइ छ ।
एमालेबाट कसले पाउला टिकट ?
एमालेको तर्फबाट भने हालका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार र प्रदेश ‘क’ बाट निर्वाचित अमिरबाबु गुरुङ टिकटको रेसमा छन् । सुनुवार २०७० सालको संविधान सभा सदस्य समेत हुन् भने हालका प्रतिनिधिसभा सदस्य पनि हुन् । ७४ सालको निर्वाचनमा नेकपाका तर्फबाट प्रतिनिनिधि सभा सदस्यको उम्मेदवार बनेका सुनुवारले कांग्रेसका खतिवडालाई पराजित गर्दै निर्वाचित भएका थिए । तर सुनुवारलाई पन्छाउँदै गुरुङ प्रतिनिधिसभाको टिकट उम्काउने दाउमा छन् । नेकपामा विवाद हुँदा यज्ञराज सुनुवार माधव नेपाल र प्रचण्डको पक्षमा उभिएका थिए । माओवादी र एमाले अलग भएपछि एमालेमा विवाद हुँदा पनि माधव नेपालका पक्षेमा उनी खुलेर लागेका थिए ।
यस कुराले पनि उनले टिकट पाउने कुरामा फरक पार्ने नेताहरु बताउँछन् । गुरुङ प्रदेशसभामा नेकपाको सरकारहुँदा प्रदेश १ मा भौतिक तथा पूर्वाधार मन्त्री पनि बनेका थिए । उनी ओली निकटका नेता हुन् । एमालेबाट प्रतिनिधिसभा सदस्यमा यी दुई मध्ये एकले टिकट पाउने चर्चा बढी मात्रामा हुँदै आएको छ । यी दुईमध्ये एक जनाले प्रतिनिधिसभा सदस्यको लागि कांग्रेसका खतिवडा वा माओवादीका कार्कीसँग प्रतिस्पर्धा गनुपर्ने देखिन्छ । प्रदेश सभामा पनि धेरै आकांक्षीहरु देखिएको एमाले ओखलढुंगाका नेता शंकर कट्वालले जानकारी दिए । उनले गठबन्धनबाट जो उम्मेदवार बनेर आएपनि त्यसको सामना गर्न एमाले तयार भएको बताए । गुरुङ वा सुनुवारमा कसलाई टिकट दिने भन्ने कुरा भने पार्टीको हातमा रहेको उनको भनाइ छ ।
पदम भुजेल
