बालेन्द्र रक्स : ‘नक्सापास रहेनछ डोजर चलाऊ’

बालेन्द्र रक्स : ‘नक्सापास रहेनछ डोजर चलाऊ’


  • 7.6K
    SHARES
    • भाद्र ९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    बालेन्द्र रक्स : ‘नक्सापास रहेनछ डोजर चलाऊ’

    काठमाडौंं । केही दिनदेखि सबैभन्दा बढी चर्चाको शिखरमा कोही छ भने ती हुन् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) । देशको राजधानी तथा सबैभन्दा ठूलो सहर काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएर सबैलाई चकित पार्दै जित हासिल गरेका बालेन्द्रले पछिल्लो केही दिनदेखि सबैलाई चकित पार्ने काम गर्दै आएका छन् । 

    images

    आजभन्दा लगभग ३५ दिनअगाडि काठमाडौं महानगरले एउटा सूचना निकालेको थियो । सूचनामा ‘नक्सा पास नगरिएका अवैध संरचना हटाउनू तथा जे प्रयोजनका लागि भनि भवन निर्माण गरिएको हो त्यसलाई त्यही प्रयोजनका लागि प्रयोग गर्नू’ भनिएको थियो । तर काठमाडौं महानगरले निकालेको त्यस सूचनालाई धेरैजसोले सामान्य सम्झिए । हुन पनि महानगरले यस्ता विषयमा यस्ता खाले सूचना वषौँदेखि निकाल्दै आएको थियो । तर सूचना निकालेका ३५ दिन पुग्नेबित्तिकै मेयर शाहले सबैले कल्पना नगरेको एक्सनमा उत्रिएर सबैलाई चकित बनाए ।
     
    मेयर बालेनले गएको सोमबार नयाँ बानेश्वरमा अन्डरग्राउन्डलाई भनि नक्सापास गरिएको स्थानमा पसल सञ्चालन गरिएको भन्दै त्यसलाई भत्काए । सो समयमा उनले अवैध रुपमा सञ्चालन भएका सबै संरचनालाई महानगरले बाँकी नराख्ने बताएका थिए । बुधबार एकाएक मेयर शाह ट्राफिक प्रहरीको टोलीसहित सुन्धारास्थित काठमाडौं मलअगाडि पुगे । 

    उनी त्यहाँ किन र के का लागि पुगे भन्ने सबैलाई अन्योल नै थियो । तर उनले ‘सूचना टाँसेको ३५ दिन भयो सूचनालाई किन बेवास्ता गरेको ?’ भन्दै मलअगाडिको अवैध संरचनामा डोजर चलाए । डोजर चलाउँदै गर्दा उनलाई गाली गर्ने र कराउने पनि धेरै थिए । तर अवैध रुपमा बनाइएका संरचनाले सर्वसाधारणलाई हिँड्न असहज हुने भएकाले मेयर शाहले चालेको कदमलाई स्वागत गर्ने पनि धेरै थिए । 

    काठमाडौं मलअगाडिको संरचना भत्काएपछि मेयर शाह त्यतिमै रोकिएनन् । उनी त्यहाँबाट एकाएक खिचापोखरीस्थित आरबी कम्प्लेक्स पुगे । ३५ दिने सूचना दिए पनि भत्काउनु केही बेरअघिसम्म पनि ट्राफिकले माइकिङ गरेर ‘अवैध संरचना हटाउनुहोला र अवैध संरचनामा भएको सामग्रीहरु पन्छाउनुहोला नत्र डोजर चलाइनेछ’ भनेको पनि थियो । केही बेरपछि हेर्दाहेर्दै महानगरको टोलीले आरबी कम्प्लेक्सको वरीपरी रहेका सबै अवैध संरचना भत्काइदियो । 

    मेयर शाह र महानगरले चालेको सो कदमको बारेमा विभिन्न ठाउँमा बहस तथा छलफल  अझै पनि भइरहेका छन् । थुप्रै सञ्चारमाध्यममा उनले कानुनी रुपमा गरेको काम सही भएको टिप्पणी भयो । तर केही व्यक्तिले भुँइमान्छेको मुद्दा बोकेर मेयरको कुर्सीमा पुगेका बालेनले मानिसलाई मानिस नगनेको भन्दै आलोचना पनि गरे । तर मेयर शाह त्यतिमै रोकिएनन् ।

    उनले देखाएको त्यो अलग रुपको तेस्रो दिन बिहीबार पनि हो ।  उनी शंखमूल र कोटेश्वरका अवैध संरचना हटाउन महानगरको कार्यालयबाट ट्राफिक प्रहरी डीआईजी मीरा चौधरीको टोलीसहित लागि परेका थिए । शंखमूलस्थित अल्फाबिटा कम्प्लेक्समा पुगेर अवैध संरचना हटाउन आग्रह गर्दै थिए । संरचना हटाउने क्रममा कम्प्लेक्सका प्रतिनिधिसँग उनको वादविवाद पनि भयो । 

    मेयर शाहले कम्प्लेक्सका प्रतिनिधिलाई घरको नक्सा देखाउन र संरचना अवैध भएकाले हटाउन पनि भनेका थिए । प्रतिनिधिले महानगरसँग नक्सा होला भने । त्यसपछि मेयर शाह ‘तपाईंको घरको नक्सा मैले बोकेर हिँड्छु’ भन्दै झोक्किए । केही समयको रस्साकस्सीपछि सबै शान्त भए । त्यसपछि बालेन शाह महानगरको कार्यालयतिर लागे । बालेनले काम यतिमै सके भन्ने थियो तर होइन रहेछ । 
     
    मेयर शाह महानगरपालिकाको कार्यालय पुगेर अल्फाबिटा कम्प्लेक्सको नक्सा पल्टाउन लागे । त्यसपछि महानगरमा भएको नक्सा हातमा बोकेर उनी शंखमूलस्थित अल्फाबिटा कम्प्लेक्समै पुगे । कम्प्लेक्स बालेन र व्यवसायीबीच बिहान भनाभन पनि भएको थियो । उनले हातमा नक्सा त बोकेकै थिए । साथमा डोजर र प्रहरी पनि लिएर शंखमूल पुगे । त्यसपछि उनले सबैलाई नक्सा देखाउँदै भने, ‘नक्सामा पास रहेनछ डोजर चलाऊ ।’ डोजर चल्न थाल्यो । कम्प्लेक्स धनीले केही समय दिन माग गरे । तर बालेन्द्रले सुनेनन् । अन्त्यमा अवैध संरचना भत्काएरै छाडे ।  

    उता अवैध संरचनामा डोजर चल्दै थियो । यता मेयर शाहको सामाजिक सन्जाल फेसबुकमा स्टाटस आयो । स्टाटसमा उनले भनेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नुभयो । मैले अफिसमा गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ।’ मेयर शाह यतिमै रोकिएका छैनन् उनले थप लेख्छन्, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफै बुझेर अवैधानिक रुपमा बनाइएका संरचना हटाइदिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला ।’

    मेयर शाहको आज (बिहीबार) का दिन केही संरचना भत्काएर टुंगियो । उनको पक्ष तथा विपक्षमा विभिन्न मत प्रकट भए । तर मेयर शाहले देखाएको यो ऊर्जा र रुप भने निकैले मन पराएका छन् । बिहीबारका दिन बालेन्द्रका लागि सुखद तर अवैध संरचना बनाउनेका लागि दुखद थियो । उचित कदम चालेका बालेन्द्रका शुक्रबार र त्यसपछिका दिनमा कसरी मैदानमा आउने हुन् त्यो हेर्न भने कुर्नैपर्ने हुन्छ । मेयर शाहको ऊर्जावान पाइला सधैं आमनागरिकको सुख र खुसीका लागि बढिरहून्, शुभकामना !