काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा आगामी मंसिर चारमा हुने संघीय र प्रदेश सभा निर्वाचनको चुनावी रणनीतिबारे उल्लेख गरेका छन् ।
शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकमा पेस गरेको प्रतिवेदनमा ओलीले ६ बुँदे चुनावी रणनीति अघि सारेका छन् ।
क) निर्वाचनको मूल सन्देश र शिक्षालाई स्थापित गर्ने,
ख) प्रतिरक्षात्मक मनोविज्ञानलाई अन्त्य गर्ने,
ग) निर्वाचनको तयारी, परिचालन र मत रक्षामा कहाँ–कहाँ कमी रह्यो भन्ने निर्वाचन समीक्षाबाट निकालिएका निष्कर्षहरूको सूचि ९चेक लिस्ट० बनाएर विगतको कमीलाई नदोहोर्याउने सुनिश्चित गर्ने ।
घ) स्थानीय निर्वाचनको परिणामलाई आधार बनाएर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रको अलग–अलग विश्लेषणसहित शक्ति सन्तुलनको समीक्षा गर्ने ।
ङ) पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्ने । यसका लागि स्थानीय निर्वाचनका क्रममा र त्यसभन्दा पहिले पनि रहेका असमझदारी रहेको भए खुलस्त छलफल, आलोचना, आत्मालोचना र अन्य विधिहरूमार्फत समाधान गर्ने र पार्टी एकतालाई बलियो बनाउने ।
च) पार्टीभित्र उत्पन्न समस्यामध्ये कुन असमझदारी हो, कुन असहयोग हो र कुन अन्तरघात हो भन्ने कुराको वस्तुनिष्ठ, निष्पक्ष र सन्तुलित पहिचान गर्ने । असमझदारीलाई छलफलद्वारा, असहयोगलाई आलोचनाद्वारा र अन्तरघातलाई कारबाहीका माध्यमबाट सम्बोधन गर्ने ।
छ) आपसी अन्तरविरोधका कारण कारबाहीको दायरा अनावश्यकरूपमा फराकिलो नहोस् भन्ने कुरामा विशेष सजगता अपनाउने । प्रमाणित र पुष्टि भएका अन्तरघातका सीमित घटनामा विधि पुर्याएर बिना मोलाहिजा कारबाही गर्ने ।
