काठमाडौं । नेकपा (एमाले)ले आसन्न निर्वाचनलाई लक्षित गर्दै ‘एक पार्टी सदस्यले दुई मतदाता थप्नुपर्ने’ अभियान सञ्चालन गर्ने भएको छ ।
एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले यसबारे जानकारी गराएका हुन् । यस्तै ‘टोलटोलमा संगठन, घरघरमा सदस्य’ अभियान सञ्चालन गरिने पनि एमालेका एक नेताले जानकारी दिए । बैठकमा ओलीले ‘एक बुथ, कम्तीमा सय युथ’ परिचालन गरिने पनि जानकारी गराएका छन् ।
शुक्रबारको बैठकमा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि नौ समूह बनाएर छलफल गरिएको थियो । शुक्रबारदेखि जारी बैठक आज सकाउने तयारी एमालेको छ ।
