काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले नेपाललाई नयाँ नेतृत्वको आवश्यककता रहेको बताएका छन् । उनले भने, ‘३० वर्ष अघि जुन उद्देश्यका निम्ति बहुदलीय व्यवस्था हामीले ल्याएका थियौं । दरबारले गाउँलाई देखेन । सिंहदरबारले पनि गाउँ देखेन, बहुदलीय व्यवस्थादेखि गणतन्त्र व्यवस्थासम्म हामीले ल्यायौं । तर, हामीलाई उठाउने प्रश्न धेरै छन् ।’
आज (शनिबार) राजधानीमा आयोजित साक्षात्कारमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘हाम्रो एक्सन भएन । शब्दहरू मात्रै बढी भए । अहिले डोजरको बोलवाला छ । यो कुरालाई मनन गर्नुपर्छ । अब हाम्रो पार्टी, नेता मात्रै हेरेर जनतालाई सन्तुष्ट बनाउन सक्दैनौं । अहिले सबै जनताले संसारलाई तुलनात्मक रुपमा अध्ययन गरिरहेका छन् ।’
उनले देशका १८ वर्षभन्दा माथिका युवाहरू विदेश पलायन भएको स्मरण गराउँदै यो नेपालको राजनीतिको ठूलो चुनौती भएको उल्लेख गरे । उनले देशमा भ्रष्टाचार बढिरहेको र अर्बौंको सम्पत्ति एउटा ठेकेदारसँग, पोलिटिकल करप्सनसँग रहेको सुनाए ।
उनले भने, ‘भ्रष्टाचारीलाई अख्तियारले कारबाही गर्दैन । राजनीतिमा डोजर लगाउनुपर्दैन ? भनेर जनताले प्रश्न गरेका छन् । मुलुकको व्यापार घाटा धेरै छ । कृषि, उद्योगलाई कसरी लैजाने भनेर हामीले सोचेका छैनौं । अरुसँग कसरी ऋण लिने भनेर आश्रित हुन्छ । युवाहरू टाउको बन्ने कि पुच्छर बन्ने भन्नेमा अलमलमा छन् । सबै पुच्छर बन्न तयार छन् । ३०औं वर्षसम्म एउटै अनुहार हेर्नुपरेको छ । कांग्रेसभित्र नेतृत्वको खाँचो छ । प्राप्तिको सपना पूरा नगर्नेहरू युवा हुन सक्दैनन् । नेपाललाई नयाँ नेतृत्वको आवश्यकता छ । कम्युनिस्ट पार्टीभित्र यति धेरै द्वन्द्व हुँदा पनि कांग्रेसले गठबन्धन खोज्नुपरेको छ । गठबन्धन किन ? यो प्रश्न पनि छ । यसको पनि विश्लेषण गर्नुपर्ने छ ।’
नेता भण्डारीले सत्ताको स्वार्थका लागि मात्रै गठबन्धन गर्न खोजिएको हो भने त्यो नटिक्ने दाबी गरे । उनले भने, ‘यसअघि केपी ओलीको नेतृत्वमा गठबन्धन भयो । त्यो गठबन्धन तीन वर्षसम्म पनि शान्तिसँग चलेन । त्यो गठबन्धन सत्ता र सिंहदरबारमा केन्द्रित थियो । कांग्रेसले स्थानीय तहमा गठबन्धन गर्यो । अब यो गठबन्धन पनि सिंहदरबारमा मात्रै केन्द्रित भयो भने, त्यो गठबन्धनको पनि हिजोको अवस्था जस्तै हुन्छ ।’
डा. भण्डारीले मुलुक गरिबी र प्लेयरको कारण फेरि हिंसामा जानसक्नेतर्फ पनि चिन्ता व्यक्त गरे । उनले अब मुलुक बनाउने मान्छे खोज्नुपर्ने बताए । उनले भने, ‘हामी मुलुक बनाउँछौं । गरिबी र व्यभिचारसँग लड्नका लागि सुख, सुविधाबाट लड्न सकिँदैन ।’
