• ट्रेण्डिङ्ग :
‘मुलुकमा व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन’

‘मुलुकमा व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन’


‘सिट बाँडफाँडमा समस्या छैन, हाम्रो पार्टीको तर्फबाट भावी प्रधानमन्त्री प्रचण्ड नै हो’

  • 3.6K
    SHARES
    • भाद्र ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 5.6K Views

    ‘मुलुकमा व्यवस्था बदलियो, जनताको अवस्था बदलिएन’

    काठमाडौं । नेकपा माओवादी केन्द्र उपमहासचिव शक्तिबहादुर बस्नेतले गठबन्धनको सिटको बाँडफाँड सबैलाई स्वीकार्य हुनेगरी मिल्ने दाबी गरेका छन् ।

    images

    आज (शनिबार) राजधानीमा आयोजित साक्षात्कारमा उनले अहिले सिट बाँडफाँडबारे गम्भीर रूपमा छलफल चलिरहेको र छिटै निष्कर्षमा पुगिने विश्वास दिलाए । सिट बाँडफाँडबारे अहिले गठबन्धनमा आबद्ध दलहरूका तर्फबाट प्रस्तावमाथि छलफल भइरहेको उनले सुनाए । उनले भने, ‘अहिले छलफल भइरहेको छ, अब यसमा निष्कर्ष निकाल्छौं ।’
     
    उनले सिट बाँडफाँडबारे हिजो स्थानीय तहको निर्वाचनमा पनि समस्या थियो र त्यसलाई समाधान गरिएको सुनाउँदै अहिले संघको निर्वाचनमा पनि सिट बाँडफाँड मिल्ने बताए । उनले भने, ‘गठबन्धन आजको आवश्यकता हो कि होइन भन्ने कुरा पहिले बुझ्नुपर्यो । अहिले सबै दल गठबन्धन गरेर जाने निष्कर्ष निकालेका छन् । त्यसैले सिट बाँडफाँड मिल्छ ।’

    उनले कांग्रेस १६५ सिटमै उम्मेदवार खडा गर्ने पार्टी भएको र माओवादी केन्द्र पनि त्यस्तै पार्टी भएकाले सिट बाँडफाँड ठूलो समस्या नभएको जिकिर गरे ।
     
    उनले माओवादी केन्द्रका तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा आफूहरू चुनावमा सहभागी हुने सुनाए । 

    नेता बस्नेतले पाँच वर्षको अवधि सम्पूर्ण समस्या समाधान गर्ने अवधि नभए पनि ५ वर्ष केही पनि भएको छैन भन्ने नभएको सुनाए । उनले शिक्षा, स्वास्थ्य र आर्थिक विकासको क्षेत्रमा परिवर्तन भएको दाबी गरे ।
     
    उनले मुलुकमा व्यवस्था बदलिए पनि जनताको अवस्था नबदलिएको टिप्पणी गरे । अपेक्षित ढंगले मुलुकमा आर्थिक सामाजिक अवस्थामा परिवर्तन आउन नसकेको उनको भनाइ छ । उनले भने, ‘यसबारेमा बहस चलिरहेको छ । कतिपयले राजनीतिक व्यवस्था ठीक नभएर हो कि भनेर बहस चलाइएको छ । अर्कोतर्फ, पार्टी गलत भएकाले यो परिणाम आएको हो भनेर बहस भएको छ । पछिल्लो समय मुलुकमा उल्लेखनीय परिवर्तन भएका छन् । अझै परिवर्तनलाई व्यवहारिक रूप दिन, केही नमिलको कुरा मिलाउनुपर्छ । यो कोण पनि छ ।’

    उनले अहिलेको व्यवस्था त्रुटिपूर्ण नभएको जिकिर गरे । उनले मुलुकमा लोकतन्त्र अझै मजबुत र फराकिलो भएको सुनाए । व्यवस्थाको दृष्टिकोणले हेर्दा यसलाई त्रुटिपूर्ण भन्न नमिल्ने उनको भनाइ छ । यद्यपि उनले दलहरू कमजोरीरहित छन् भनेर आफूले नभन्ने पनि सुनाए । मुलुकको भाग्य र भविष्यको निरुपण दलबाटै भएको बताए ।