काठमाडौं । नेपालको विद्युत् उत्पादन क्षमता २,२६९ मेगावाट पुगेको तथ्यांक सार्वजनिक भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले मन्त्रालय सम्हालेदेखिको आफ्नो १७ बुँदे उपलब्धि सार्वजनिक गर्ने क्रममा कुल उत्पादन क्षमताको तथ्यांक सार्वजनिक गरेकी हुन् ।
गत आर्थिक वर्षमा मन्त्रालयको वित्तीय प्रगति ७६.६६ प्रतिशत र भौतिक र ८० प्रतिशत हाराहाराहारीमा रहेको उनले जनाएकी छन् । यस्तै कुल विद्युत् उत्पादन क्षमता २,२६९ मेगावाट पुगेको थियो । विद्युत् उत्पादन क्षमता ७४१ मेगावाट थप भएपछि २,२६९ पुगेको मन्त्री भुसालको दाबी छ । ६६ केभीभन्दा माथिको प्रशारण लाइन भने ४४६ सर्किट किमी थप भई ५,०८६ सर्किट किलोमिटर निर्माण भएको छ भने विद्युत् चुहावट १७.१८ बाट १५.३८ पुगेको छ ।
उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले २० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने निर्णय कार्यान्वयमा आइसकेको जानकारी दिइन् । सिंचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट २ रुपैयाँसम्म महसुल कायम गरिएको छ ।
मन्त्री भुसालले देशका करिब ९५ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको दाबी गरेकी छन् । उनले ‘स्वदेशी विद्युत् जोडौं, विदेशी ग्याँस छोडौं’ भन्ने अभियानबाट विद्युत् खपतमा वृद्धि भएको पपिन दाबी गरेकी छन् । स्वच्छ ऊर्जाको प्रयोगले वातावरण संरक्षणमा पनि सहयोग पुगेको उनको उनको दावी छ ।
