- तेस्रो आँखा डेस्क
काठमाडौं, २५ मंसिर । वर्तमान कांग्रेसको पहिलेको नाम नेपाली राष्ट्रिय कांग्रेस हो । नेपाली राष्ट्रिय कांग्रेसकारुपमा राजनीतिक यात्रा प्रारम्भ गरेको कांग्रेसले थुपै आरोह र अवरोहका ७ दशक पार गर्यो ।
स्थापनाकालमै २००३ सालको मजदुर आन्दोलनको नेतृत्व गरेको पार्टीले प्रजातन्त्रप्राप्तिका लागि २००३ सालमा विराटनगरमा मजदुर आन्दोलन, राणाविरोधी २००७ सालको क्रान्ति, २०११ को सत्याग्रह, २०१४ को भद्र अवज्ञा आन्दोलन होस् वा २०३३ को जनमत संग्र्रह, २०४२ को सत्याग्रह, २०४६ को ऐतिहासिक जनआन्दोलन त्यसपछि २०६२–६३ को लोकतान्त्रिक आन्दोलनदेखी गणतन्त्र स्थापनासम्म कांग्रेसको विगत स्मरण योग्यछ ।
तर, स्थापनाको ७५ वर्षे यात्रामा कांग्रेसले खास्सै उल्लेखनीय काम गर्न सकेन । पार्टी हितकालागि जहिले गुट उपगुटको ट्यागमा अहिलेको कांग्रेसमा विगतलाई सम्झिएर मात्रै बस्नुपर्ने बेला आएको छ । पार्टीभित्रको गुटको द्वन्द्वले कांग्रेसले राणाकाल र पञ्चायतकालमा यस्तै नियति भोगेको थियो ।
अहिले काठमाडौंको भृकुटीपमण्डमा भइरहेको कांग्रेस १४ औं महाधिवेशनको मनोनयन दर्तामा आउन थप गुटको सिकार भएको छ । १३ औं महाधिवेशनबाट संस्थापन र संस्थापनइतर पक्षमात्र सिमित रहेको कांग्रेस १४ औं महाधिवेशनमा आईपुग्दा ६ कित्तामा विभाजित भएको छ । अर्थात नेतृत्वकोलागि ६ जनाको मनोनयन परेको छ ।
यस्ता गतिविधिले कांग्रेसमा गुटगत झार कति झाँगिएको छ भन्ने प्रष्ट बनाएको छ । सिंगो गुटको नेतृत्व गरेका बरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट सधैकालागि बाहिरिका छन् भने, कोइराला परिवार दुई तीन धुर्वमा विभाजित भएको छ । नेता शेखर कोइरालाले सभापतिमा उम्मेदवारी मनोनयन गर्दै गर्दा न शशांक कोइराला देखिए न सुजाता कोइराला भेटिइन, समुहमा देखिएका त केवल उपसभापतिमा चन्द्र भण्डारी, धनबहादुर गुरुङ, महामन्त्रीमा गगन थापा, डा.मिनेन्द्र रिजाल, सहमहामन्त्रीमा देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त रामृष्ण यादव तेजुलाल चौधरी र वकिल मियाँ ।
त्यस्तै, पाका नेताकारुपमा रहेका कृष्ण प्रसाद सिटौला सभापति देउवालाई समर्थन गर्दै बाहिरिए । सभापतिमा मनोनयन दर्ता गरेका नेता विमलेन्द्र नीतिले आफु बाहेक कुनैलाई पनि टिममा देखाएनन् । कांग्रेस १४ औं महाधिवेशनसम्म आईपुग्दा एक गुटको झुण्डा बनेको विश्लेशन हुन थालेको छ ।
कुन गुटको उपस्थिति कस्तो हुने भन्नेबारेको रस्साकस्सीले काँग्रेसको बैधानिक हैसियतमाथि नै प्रश्न चिन्ह खडा भएपछि बल्ल १४ औं महाधिवेशन पटक—पटक घोषित र मिति परिवर्तित हुँदै आजको मितिसम्म आइपुग्यो । नेपाली राजनीतिक दलले आफ्नो पार्टीको चुनावी प्रक्रियालाई निकै परिमार्जन गर्दै लगेका छन् त्यसमा काँग्रेसपनि एक हो । काँग्रेसको महाधिवेशनको इतिहास हेर्ने हो भने जिल्लामा हुने निर्वाचनबाट प्रतिनिधिहरुले सोझै सभापतिमा मतदान गर्थे । सातौं महाधिवेशनसम्म आइपुग्दा काँग्रेस यही विकेन्द्रित चुनावी अभ्यासमा थियो ।
त्यतिबेलासम्म कांग्रेसको सदस्यता ३ प्रकारको हुन्थ्यो । साधारण सदस्य, क्रियाशील सदस्य र महाधिवेशन प्रतिनिधि । २५ सदस्य बराबर एक प्रतिनिधि हुन्थे र उनीहरुले सोझै जिल्लाबाटै केन्द्रीय सभापतिका लागि भोट हाल्न पाउने व्यवस्था थियो । २०४७ सालमा प्रजातन्त्र पुनःस्थापना पछि भएको पहिलो खुला अधिवेशनले नयाँ ढाँचाको चुनावी प्रकृया थालनी गर्यो ।
कांग्रेस पहिलो महाधिवेशन
राष्ट्रिय कांग्रेसको रुपमा पहिलो महाधिवेशन २००३ साल माघ १२ र १३ गते भारतको कलकत्ता, भवानीपुरस्थित खालसा हाइस्कुलमा भएको थियो । तत्कालीन अवस्थामा जेल जीवन बिताएका टङ्कप्रसाद आचार्य सभापतिमा र विश्वेश्वरप्रसाद कोइराला कार्यवाहक सभापतिमा निर्वाचित भए । सुरुमा कांग्रेसको अधिवेशन हरेक वर्ष हुन्थ्यो ।
कांग्रेस दोस्रो महाधिवेशन
२००४ साल माघ २० देखि २२ गतेसम्म भारतको वनारसमै काँग्रेसको महाधिवेशन भयो । यो महाधिवेशनले हिरासतमै रहेका बिपी कोइरालालाई सभापति निर्वाचित त ग¥यो तर उनी रिहा नभएसम्मका लागि डा. डिल्लीरमण रेग्मीलाई कार्यवाहक सभापति बनायो । सभापति हुँदा हुँदै कार्यबाहक सभापति तोक्ने काँग्रेसी परम्पराको शुरुवात यहींबाट भयो । पछि, गिरिजाप्रसाद कोइरालाले त्यसैको अनुशरण गर्दै आपूm सभापति हुँदाहुँदै सुशील कोइरालालाई कार्यबाहक सभापति बनाइदिए ।
कांग्रेस तेस्रो महाधिवेशन
नेपालमा राणाविरोधी गतिविधि चलिरहेका बेला का“ग्रेसको तेस्रो महाधिवेशन २००५ साल फागुन १८ गते भारत बिहारको दरभङ्गामा सम्पन्न भयो । अघिल्लो महाधिवेशनले सभापति निर्वाचित गरेपनि हिरासतै भएका कारण बिपी कोइरालाको ठाउमा उनका दाइ मातृका कोइरालालाई कार्यवाहक अध्यक्ष बनाइयो । विश्वेश्वरप्रसाद कोइराला त्यतिबेला पनि हिरासतमै थिए ।
कांग्रेस चौथो महाधिवेशन
परिवर्तनको नारा बोकेको कांग्रेसको राजनीतिमा चौंथो महाधिवेशनले ठूलो अर्थ र महत्व राख्छ । नेपाली राष्ट्रिय काँग्रेस र २००४ साल साउन १ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसबीच २००६ साल चैत २७ गते कलकत्तामा एकीकरण भएसँगै एकीकृत पार्टीको नाम नेपाली कांग्रेस राखियो । दुई पार्टी एकीकरणपछि कलकत्ताको टाइगर हलमा पार्टीको चौथो महाधिवेशनले मातृकाप्रसाद कोइरालालाई सभापति बनायो ।
यहि महाधिबेशनबाट नेपाली कांग्रेसले पहिलो युगान्तकारी घोषणापत्र जारी गरेको थियो । त्यो समय नेतृत्व दिईन्थ्यो भने अहिले नेतृत्वकालागि रस्साकस्सी हुन्छ । चौथो महाधिवेशनपछि काँग्रेसजनले मुलुकभित्रै जनआन्दोलन थाले जसको बलमा २००७ सालमा प्रजातन्त्र आयो । प्रजातन्त्र स्थापनापछिको संक्रमणकालीन समय र राजनीतिले निकास नपाइन्जेल काँग्रेसको महाधिवेशन हुन सकेन ।
कांग्रेस पाँचौं महाधिवेशन
चौथो महाधिवेशन भएको ३ वर्षपछि नेपाली कांग्रेसले नेपाली भूमिमै पाँचौ महाधिवेशन सम्पन्न ग¥यो । नेपाली कांग्रेसीकालागि यो निकै महत्वपुर्ण क्षण थियो । २००९ साल जेठ १० देखि १३ गतेसम्म क्रान्तिको उपलब्धि रक्षार्थ जनचेतनाको अभियान कै क्रममा जनकपुरमा नेपाली कांग्रेसको पाँचौ महाधिबेशन सम्पन्न भएको थियो । नेपाली भूमिमा पहिलो पटक भएको सो महाधिबेशनबाट विश्वेश्वरप्रसार कोइराला सभापति चयन भए । उनले केदारमान व्यथितलाई पराजित गरेका थिए ।
महाधिवेशनमा भएको मतदानको असर पछि देखा प¥यो। सरकार सञ्चालनका क्रममा पार्टी निर्देशन नमानेको भन्दै काठमाडौंको विशालनगरमा २००९ साल साउन ८ देखि २३ सम्म चलेको पार्टीे विशेष महासमिति बैठकले प्रधानमन्त्री मातृकाप्रसाद कोइराला, नारदमणि थुलुङ र महाविर शमशेर लगायतका नेतालाई कारबाही गरेपछि काँग्रेस फेरि फुट्न पुग्यो ।
कांग्रेस छैटौं महाधिवेशन
कांग्रेसको छैटौं महाधिवेशन अन्य भन्दा थप रोचक छ । खासमा प्रजातान्त्रिक समाजवादलाई पार्टीको सिद्धान्त मान्दै वीरगन्जमा छैटौं महाधिवेशन भयो । २०१२ साल माघमा भएको अधिवेशनले सुवर्णशमशेर राणालाई पार्टी सभापति चयन ग¥यो । महाधिवेशन किन रोचक भयो भने सुवर्णशमशेरलाई वीपीको साथ थियो तर सुवर्णको विरुद्धमा उम्मेदवारी दिएका गणेशमानलाई गिरिजाप्रसाद कोइरालाले सघाएका थिए । सुवर्ण शमशेर २ सय ३६ मत ल्याएर विजयी भए । गणेशमानले १ सय ७२ मत प्राप्त गरे । समय क्रमसँगै नेपाली कांग्रेसमा आन्तरिक बिवादले प्रसय पायो । २ वर्षपछि नै २०१४ सालमा विराटनगरमा पार्टीको विशेष महाधिवेशन बोलाइयो ।
विराटनगरको तुलारामनगरमा बसेको विशेष महाधिबेशनले वीपी कोइरालालाई सभापतिमा, सूर्यप्रसाद उपाध्याय र गणेशमान सिंहलाई महामन्त्रीमा तथा सुवर्णशमशेरलाई कोषाध्यक्षमा मनोनयन ग¥यो । मजदुर आन्दोलनका क्रममा कांग्रेस कार्यकर्ता तुलाराम तामाङ मारिएको स्थानलाई कांग्रेसजनले तुलारामनगर नाम दिएर सोही स्थानमा महाधिवेशन गरे । यो विशेष महाधिवेशन भएकाले यसलाई पुरकका रुपमा गणना गरिएको थियो ।
कांग्रेस सातौँ महाधिवेशन
काठमाडौंमा सम्पन्न महाधिबेशनले वीपी कोइरालालाई पुनः पार्टी सभापति बनायो । तर २०१७ साल पुस १ गते नेपाल तरुण दलको सम्मेलन स्थलबाट प्रधानमन्त्री कोइराला, मन्त्रीहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय तथा सभामुख कृष्णप्रसाद भट्टराई गिरफ्तार भए । तत्कालिन राजा महेन्द्रले आफ्नो महत्वकांक्षामा राजनीतिक पार्टीहरू बाधक भएको निष्कर्ष सहित ०१७ साल पुस २२ गते सबै पार्टीमाथी प्रतिबन्धको घोषणा गरे । त्यसपछि झन्डै १९ वर्षसम्म तत्कालिन राजा र दलहरुबीच टकराब चल्यो, कांग्रेसले गरेको हतियारबन्द शसस्त्र आन्दोलन हुँदै शान्तिपूर्ण आन्दोलनकै दवाबमा २०३६ सालमा जनमत संग्रह भयो ।
कांग्रेस आठौं महाधिवेशन
विक्रम संवत २०४४ साल माघ ३ गते झापा कलवलगुडीमा सम्पन्न महाधिशेनबाट कार्यावाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई सभापतिमा निर्वाचित भए ।
कांग्रेस ९ औँ, १० औँ र ११ औँ महाधिवेशन
विक्रम सम्वत २०५३ सालमा काठमाडौंमा सम्पन्न महाधिवेशनमार्फत गीरिजाप्रसाद कोइरालाले कांग्रेस सभापतिको नेतृत्व पाए । २०५७ मा पोखरामा सम्पन्न १० औँ महाधिवेशन र २०६२ मा ललितपुरमा सम्पन्न ११ औँ महाधिवेशनमा समेत कोइराला नै पार्टी सभापति चुनिय ।
कांग्रेस १२ औँ महाधिवेशन
कांग्रेसले १२ औं महाधिवेशन २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न गर्यो । २०६७, असोज १ देखी ५ गतेसम्म आयोजना भएको महाधिवेशनमा शेरबहादुर देउवालाई पराजित गर्दै सुशिल कोइराला सभापति बने । त्यसपछि पनि कांग्रेसमा गुटको राजनीतिक अन्त्य भएन । जहिले नेताहरुको मुख्य नारा गुटको राजनीति अन्त्य भन्ने हुन्छ तर, व्यवहारमा लागु हुन सकेको छैन ।
कांग्रेस १३ औँ महाधिवेशन
नेपाली कांग्रेसको १३ औँ महाधिवेशन २०७२ फागुन २० देखी २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भयो । रामचन्द्र पौडेललाई पराजित गर्दै शेरबहादुर देउवा पाँच वर्षकागि सभापतिमा निर्वाचित भए । अहिले उनै सभापति देउवाको नेतृत्वमा सरकार छ। गठबन्धनदलको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका देउवा पार्टीको पुनः सभापतिमा मनोनयन दर्ता गराएका छन् । अस्तव्यस्त बनेको कांग्रेस प्यानल कुनै नेताले टुंगो लगाउन सकेका छैनन् । झुण्डमा विभाजित भएको कांग्रेसमा अब आउने नेतृत्वले पार्टीभित्रको मनमुटावलाई कति पखाल्न सक्छ त्यो भने हेर्न बाँकी छ ।
