काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरुसँग छलफल गरेकी छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा सोमबार उनीहरुबीच नागरिकतासम्बन्धी विधेयक, आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीलगायत समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
भेटमा राष्ट्रपति भण्डारीले नागरिक विधेयकका सम्बन्धमा जिज्ञासा राख्दै यसबारे दलहरुलाई साझा धारणा बनाउन आग्रह गरेको अधिकारीले बताए । यसैगरी प्रधानमन्त्री देउवाले सरकारले अघि बढाएको नागरिकता विधेयकका सम्बन्धमा र निर्वाचनको तयारीबारे जानकारी गराएका थिए ।
भेटमा कांग्रेसका तर्फबाट सभापति देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।
राष्ट्रपति भण्डारीले सोमबारै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का शीर्ष नेताहरूसँग पनि सोही विषयमा छलफल गरेको प्रमुख स्वकीय सचिव अधिकारीले जानकारी दिए ।
नागरिकतासम्बन्धी विधेयक दुवै सदनबाट पारित भई सभामुखबाट प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइएको थियो । उक्त विधेयक राष्ट्रपतिले पुनर्विचारको सन्देशसहित संघीय संसद्मै फिर्ता पठाएकी थिइन् । विधेयक प्रतिनिधिसभाबाट पुनः हुबहु पारित गरी आइतबार मात्रै राष्ट्रियसभामा टेबुल भएको छ । राष्ट्रियसभाले विधेयक छलफलका लागि विधायन समितिमा पठाएको छ ।
