काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मंगलबार प्राधिकरणको प्रधान कार्यालय रत्नपार्कमा निर्माण गरिएको अत्याधुनिक फास्ट चार्जिङ स्टेसनका उद्घाटन गरिन् ।
आन्तरिक रूपमा विद्युत् खपत बढाउने महत्त्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै मन्त्री भुसालले चार्जिङ स्टेसनको सञ्चालन ऊर्जा क्षेत्रमा एउटा क्रान्ति भएको बताइन् । ‘आन्तरिक रूपमा करिब २२ प्रतिशत विद्युत् खपत बढेको छ, आफ्नै स्रोतबाट पानीबाट उत्पादित विद्युतको प्रयोगले पेट्रेलियम पदार्थ आयातमा खर्च भइरहेको पैसा हाम्रै देशमा रहन्छ, यसले व्यापार घाटालाई सम्बोधन गर्छ र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग गर्छ,’ उनले भनिन् ।
विगतमा लोडसेडिङका बेला विद्युतीय गाडीको प्रयोग सोच्न पनि नसकिने अवस्था रहेको उल्लेख गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले लोडसेडिङ अन्त्य गर्दै आन्तरिक रूपमा विद्युत् खपत बढाउन चार्जिङ स्टेसन सञ्चालनसम्म पुग्नु ठूलो क्रान्ति भएको बताए ।

‘विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनका लागि सहुलियतदरको महसुल तोकिएको छ, तर निजी क्षेत्रबाट सञ्चालित चार्जिङ स्टेसनले तोकिएभन्दा बढी महसुल लिएको र विद्युतीय गाडीले भाडादर पेट्रोलियम पदार्थबाट चल्ने गाडीकै लिने गरेको गुनासो आएको छ,’ घिसिङले भने, ‘यसको हामी अनुगमन गर्छौं, तोकिएभन्दा बढी महसुल नलिन र सस्तो दरमा चार्ज हुने भएकोले भाडामा सहुलियत दिन आग्रह गर्दछु ।’
प्राधिकरणले विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरू पर्ने ५१ स्थानमा विद्युतीय सवारी साधन छिटो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण भइरहेको छ । त्यसमध्ये २६ ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटा साना÷ठूला कारहरू चार्ज गर्न मिल्ने रहेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित तथा प्रस्तावित पेट्रोल पम्प र कार्यालयहरूका उपयुक्त स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । चार्ज गर्दा कारहरूमा औसत सत्तरी पैसा, एसयूभीहरूमा असी पैसा, माइक्रोबसमा नब्बे पैसा र बसहरूमा एक रुपैयाँ बीस पैसा प्रतिकिलोमिटर खर्च लाग्नेछ । नेपालमा उपलब्ध सवारीसाधनहरूमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।
आन्तरिक रूपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गर्न लागिएको हो ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर,अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०/६० किलोबाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिनेछन् । यसबाट ठूला बससहित तीनवटा सवारीसाधनको एकसाथ चार्ज गर्न सकिनेछ ।

चार्जिङ स्टेसन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारका लागि वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड, जियाङ्सु, चीनसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो । एसियाली विकास बैकको सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो ।
सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेसनको मर्मतसम्भार ठेकेदार कम्पनीले नै गर्नेछ । तीन सयभन्दा बढी चार्जरलाई सेवा दिन सक्ने गरी प्राधिकरणको डाटा सेन्टरमा चार्जिङ स्टेसनको सफ्टवेयर राखिनेछ । ५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौँबाट हुनेछ । सवारीसाधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

