अनधिकृत संरचना हटाउन सक्रिय शाह : अदालतको मुद्दा समेत खेपेका उनले सफलता पाउलान् ?

अनधिकृत संरचना हटाउन सक्रिय शाह : अदालतको मुद्दा समेत खेपेका उनले सफलता पाउलान् ?


  • 8.4K
    SHARES
    • भाद्र १४, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    अनधिकृत संरचना हटाउन सक्रिय शाह : अदालतको मुद्दा समेत खेपेका उनले सफलता पाउलान् ?

    काठमाडौं । फोहोरको समस्या समाधान गर्न नसकेको भन्दै काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)को आलोचना हुँदै आएको थियो । लामोसमयको रस्साकस्सीपछि फोहोरको व्यवस्थापनमा केही सहजता ल्याउन सफलभएपछि एकाएक मेयर शाह फोहोर व्यवस्थापनको विषयमा भएको आलोचनालाई छायाँमा पार्न सफल हुँदै गएका छन् ।

    images

    गएको भदौ ६ गते काठमाडौंको नयाँ बानेश्वरमा अन्डरग्राउण्डको लागि नक्सा पास गरेको स्थानमा पसल तथा अन्य व्यवसाय सञ्चालन गरेको भन्दै मेसिन प्रयोग गरेर महानगर त्यसलाई हटाउनतर्फ लाग्यो । स्वयम् मेयर शाह र ट्राफिक प्रहरीको सहभागितामा अन्डरग्राउण्ड पार्किङ खुलाउने काम भएको थियो। मेयर शाहले सोही दिन काठमाडौं महानगरमा अनधिकृत रुपमा सञ्चालन भएको संपूर्ण संरचनाहरुलाई हटाइने बताएका थिए । महानगरले निकालेको ३५ दिने सूचनाको बेवास्ता गरेको भन्दै उनी अनधिकृत संरचना हटाउन एक्सनमा उत्रिएका थिए । 

    महानगरले अवैध संरचना हटाउन थाल्नुभन्दा ३५ दिन पहिले एक सूचना जारी गर्दै महानगरभित्र सार्वजनिक जग्गा मिचेर तथा अनधिकृत रुपमा सञ्चालन भएका संपूर्ण संरचनालाई ३५ दिन भित्र हटाउन आग्रह गरेको थियो । महानगरले यस्ता सूचनाहरु पटकपटक निकाल्दै आएको थियो । मेयर शाह काठमाडौं महानगरको नेतृत्वमा आएपछि भने यस्तो सूचना जारी भएको यो पहिलो पटक थियो । सबैले महानगरको यस सूचनालाई पहिले पटकपटक निकालिएको सूचना जस्तै हलुका रुपमा लिए । शाह हालको अवतारमा निस्कन्छन् भन्ने पनि कमैले सोचेका थिए । मेयर शाहको उपस्थितिमा बानेश्वर कम्प्लेक्ससहित वरपरका संरचना हटाएपछि मेयर शाहको चारैतिर प्रशंसा हुन थाल्यो । 

    सोही क्रममै भदौ ८ गते सुन्धारास्थित काठमाडौं मल अगाडिको अवैध संरचनामा महानगरको डोजर चल्यो । मेयर शाह उपत्यका ट्राफिक प्रहरी प्रमुख मीरा चौधरीसहित डोजर लिएर सुन्धारा पुगेका थिए । अवैध संरचनामा भएका पसल खाली गरेर त्यहाँ डोजर लगाएर संरचनालाई भत्काइयो । सोही दिन काठमाडौं मल अगाडिको संरचना हटाएपछि शाह डोजर लिएर खिचापोखरी पुगे । खिचापोखरीस्थित आरबी कम्प्लेक्समा रहेका नक्सा पास विपरितका संरचनामाथि डोजर चलाइयो । सोही क्रममा महानगरले न्युरोडको रञ्जना गल्लीभित्र रहेका नक्साविपरितका भवनहरु पनि भत्कायो ।

    अवैध संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै मेयर शाह भदौ ९ गते शंखमुल पुगे । शंखमुलमा पुगेर उनले बर्गर हाउस र अल्फा हाउसको अन्डरग्राउण्ड तत्काल खाली गर्न निर्देशन दिए । सोही दिन नगर प्रहरी प्रमुखसहितको टोली गौशाला पुगेर मुक्तिनाथ विकास बैंक रहेको भवनको अवलोकन गरेर अनधिकृत संरचना हटाउन निर्देशन दिए । बिहान बानेश्वरको अनुगमन गर्न जाँदा बालेन र अल्फाबिटाका प्रतिनिधिबीच सवालजवाफ भएको थियो । नक्साको विषयमा विवाद भएपछि महानगरको कार्यालयतर्फ गएका शाह त्यसको केही समयपछि अल्फबिटामा पुगेर अवैध रुपमा रहेको फार्मेसीमा डोजर चलाए  ।

    अल्फाबिटाको अवैध संरचना भत्काउँदै गर्दा मेयर शाहले एउटा स्टाटस लेखेका थिए । जसले सामाजिक सञ्जालमा निकै चर्चा पायो । उनले सवालजवाफ परेको व्यक्तितर्फ इंगित गर्दै ‘उहाँले नक्सा माग्नुभयो, मैले नक्सा र डोजर लिएर गएँ के बिराएँ’ भन्ने स्टाटस लेखेका थिए । मेयर शाहको त्यो एक्सनवाला कार्यलाई देखेर धेरै मानिसहरु आश्चर्यमा परेका थिए । सामाजिक सञ्जालमा बालेन शाह रक्स भन्दै उनको चर्चा पनि निकै भयो । 

    भदौ ११ गते काठमाडौं महानगरले वनस्थली चोकबाट ढुंगेधारा जाने बाटोमा बनाइएका अनधिकृत संरचना हटायो । उक्त दिन महानगरले वनस्थलीमा सात वटा टहरा र सडकबाट घरमा राखेको ३ वटा भर्याङ र एउटा घरको बलेसी भत्कायो । त्यस्तै १२ गते महानगरले रत्नपार्क वरपर रहेका अवैध संरचनालाई हटायो । महानगरले रत्नपार्कको सब–वे सँगैका संरचना भत्काएको थियो ।  तर, यस दिन मेयर शाहको त्यहाँ उपस्थिति थिएन । 

    महानगरले हिजो अर्थात् १३ गते न्युरोडको सुरज अर्केडमा डोजर चलायो । नगर प्रहरीको टोलीले दुई वटा डोजर लिएर गएर अवैध संरचना भत्काउने काम गरे । महानगरले सुरज अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेसमेन्ट खाली गराउन समेत लगायो । सोही क्रममा महानगरको टोली बसन्तपुर प्लाजामा पनि पुगेको थियो । 

    नर्भिकमा पनि डोजर लिएर पुगेका थिए बालेन 

    भाडामा लिएको एक रोपनी आठ आना जग्गा नक्सापास नगरी संरचना बनाएको भन्दै काठमाडौं महानगरपालिकाले नर्भिक अस्पताललाई साउन २३ गते २४ घण्टाभित्र सो संरचना भत्काउन अल्टिमेटम दिएको थियो । त्यसपछि २४ गते महानगरका मेयर शाह महानगरको गाडीसहित सो संरचना हटाउनै भनेर अस्पताल पुगेका थिए । तर अस्पतालले संरचना हटाउन समय लाग्ने बताएपछि महानगर र अस्पताल प्रशासनबीच प्राविधिकले तोकेको समयमा संरचना भत्काउने सहमति भएको थियो । गाडीसहित पुगेका मेयर शाहले अस्पताल भर्ना भएका वा तत्कालै भर्ना हुन सक्ने बिरामीहरुलाई समस्या पर्ने भन्दै मानवीय संवेदनाका आधारमा थप समय दिएको बताएका थिए । 

    महानगरले २४ घण्टाभित्र हटाउन भनेको नर्भिकको संरचना साउन २५ गते सर्वोच्च अदालतले सो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दियो । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सो आदेश जारी गरेको थियो । सोहि आदेशकाले मेयर शाह र महानगरको नर्भिक अस्पतालको सो संरचना भत्काउने अभियानमा रोक लाग्यो । अदालतले सो संरचना हटाउनु पर्नाको कारणसहित लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ । अदालतले अर्को सुनुवाई नभएसम्मका लागि नर्भिकका संरचना हटाउने कुनै पनि काम नगर्न आदेश जारी गरेपछि हाल सो काम रोकिएको छ । 

    नर्भिककै विषयमा बालेनविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा

    सर्वोच्चले नर्भिकको पक्षमा फैसला दिएपछि मेयर शाहले ‘अब नक्सा पासको कामपनि अदालतलाई गर्न दिए हुने’ भनि सामाजिक सञ्जालमा टिप्पणी गरेका थिए । उनको सो प्रतिक्रियाले अदालतको अवहेलना भएको भन्दै अधिवक्ता दीपकराज जोशीले शाहमाथि अदालतको अवहेलनाको आरोपमा कारवाहीको माग राखी दिवेदन दिएका थिए । सो मुद्दामा सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सुनुवाइ गर्दै सात दिनभित्र आफैं उपस्थित भएर जवाफ दिने आदेश दिएको छ । 

    मेयर शाहको विरुद्धमा सर्वोच्चमा अवहेलना परेदेखि उनलाई काम गर्न नदिन चलखेल भएको भन्दै कतिपय व्यक्तिहरु आक्रोशीत बनेका छन् । नर्भिक अस्पतालले महानगरले दिएको अल्टिमेटम खारेजीको माग गर्दै सर्वोच्चमा रिट दिएदेखिनै ठूलालाई कानूनले नछुने भन्ने चर्चा पनि हुँदै आएको छ । मेयर शाहको विरुद्धमा नै मुद्दा परेपछि र अदालतले जवाफसहित उपस्थित हुन आदेश दिएपछि मेयर शाहका समर्थकरु आक्रोशित बनेका छन् । भदौ ६ गते देखि महानगरका अवैध संरचना हटाउन सक्रिय मेयर शाह नर्भिक अस्पतालको संरचनाको विषयमा आएर भने रोकिनु परेको छ । साना व्यापारीहरुले पनि नर्भिक जस्तो ठूला व्यवसायीलाई कानून नलागेको र आफूहरुको व्यवसाय तथा संरचना भटाभट भत्काइएको भन्दै महानगरप्रति आक्रोश पोखेका छन् । 

    अवैध संरचना हटाउने मेयर शाहको अभियानको प्रभाव मुलुकभर

    फोहोरको व्यवस्थापन सामान्यरुपमा भइरहेको हुनाले अनधिकृत संरचना हटाउने अभियानमा पूर्ण रुपमा लागेका मेयर शाहको अभियानको अनुसरण भने मुलुकभर गर्न थालिएको छ । मध्यपुर थिमि नगरपालिकाले पनि सूचना जारी गर्दै अतिक्रमण गरेर बनाएको संरचना ३५ दिनभित्र नहटाए कारबाही गर्ने बताएको छ । त्यस्तै पोखरा महानगरले अनधिकृत संरचना हटाउन दोस्रोपटक सूचना जारी गरेको छ । पोखरा महानगरले सूचनाको बेवास्ता गरे कारबाही गरिने बताएको छ ।  

    यसरी काठमाडौं महानगर र मेयर शाहको अभियानको देशभर सकरात्मक प्रभाव पर्दा काठमाडौंमा भने मेयर शाहले यस अभियानलाई कति निरन्तरता दिन्छन् भन्ने विषय पनि प्रश्नको विषय बनेको छ । काठमाडौं महानगरले संरचना भत्काएको तर भत्काएको संरचना व्यवस्थापनमा ध्यान नदिएको भन्दै आलोचना पनि भइरहेको छ । मेयर शाहको हालको सक्रियतालाई हेर्दा उनले यस अभियालाई बीचमै नछोड्ने संकेत देखिएको कतिपयले विश्लेषण गर्दै आएका छन् । तर मेयर शाहले यस अभियानलाई कति निरन्तरता दिन सक्छन् भन्ने विषय थाहा पाउन भने आगामी दिन कुर्नपर्ने देखिन्छ ।