काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा (राणा) बयानका लागि सिंहदरबारमा पुगेका छन् । राणालाई बयानका लागि संसदको महाअभियोग सिफारिस समितिले आज बोलाएको थियो ।
गत १ फागुनमा सत्तारुढ दलका सांसदले जबराविरुद्ध महाअभियोग संसदमा दर्ता गरेका थिए । महाअभियोगबारे अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको ११ सदस्यीय समितिको बैठकले १९ भदौभित्र प्रतिनिधिसभालाई प्रतिवेदन बुझाउने कार्यतालिका पारित गरेको छ । जसका लागि १२ भदौसम्म प्रमाण जुटाउने र अध्ययन गर्ने समितिले निर्णय गरेको थियो ।
