काठमाडौं । अवस्था ठीक नभएका सवारीसाधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले बुधबारदेखि अभियानकै रुपमा कारबाहीलाई थप तीव्र बनाएको छ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि गेटनजिकै बुधबार तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा गरिएको जाँचका क्रममा २६ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।
जाँचका क्रममा हेन्डब्रेक निकालेका तीन टाटा सुमोका चालक र च्यासिस बांगो बनाएको एउटा टाटा सुमोका चालकलाई ट्राफिक प्रहरीले सवारीसाधनको स्वरुप परिवर्तनको कसुरमा कारबाही गरेको हो । यस्तै, हेडलाइट ठीक नभएको एउटा र अवस्था ठीक नभएको पाँचवटा टाटा सुमोका चालकलाई कारबाही गरिएको छ ।
जाँचमै भेटिएका वाइफर निकालेको र सवारीसाधनको बत्ती ठीक नभएको आठवटा पानी ट्याङकर र अन्य टाटा र डीआई गाडीका आठ चालकलाई पनि कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
अवस्था ठीक नभएको सवारीसाधन चलाउँदा दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न बुधबारबाट अभियानलाई तीव्रता दिइएको हो । आगामी दिनमा अभियानले निरन्तरता पाउने र अवस्था ठीक नभएको सवारीसाधन चलाए सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबाही हुने पनि भट्टले बताए ।
-फाइल तस्बिर
