- तेस्रो आँखा डेक्स
काठमाडौँ, मंसिर २६ । नेपाली कांग्रेसको १४औंमहाधिवेशनमा कांग्रेसभित्रको गुट-उपगुटले नयाँ मोड लिएको छ । १३औं महाधिवेशनमा भएका समीकरणमा ब्यापक फेरवदल देखिएको छ । १३औं महाधिवेशनमा शेरबहादर देउवालाई सहयोग गरेका केही नेता १४औं महाधिवेशनमा आफैं चुनावी मैदानमा उत्रिएका छन् भने अधिकांश नेता देउवा टिमभित्र असन्तुष्ट देखिन्छन् ।
संस्थापन इतर पक्षमा कोइराल परिवार पनि दुई टिममा देखिएको छ । १३औं महाधिवेशनमा देउवाको टिममा विमेन्द्र निधि, विश्वप्रकाश शर्मा एउटै टिम रहेका थिए । नेता निधि अहिले सभापति पदमा लडेका छन् भने अर्का प्रभावशाली नेता विश्वप्रकास शर्मा संस्थापन इतर पक्षका नेता प्रकाशमान सिंहको टिमबाट महामन्त्री पदमा चुनावी मैदानमा उत्रेका छन् ।
नेपाली कांग्रेसका वर्तमान सभापति एवं प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा १४औं महाधिवेशनमा सहज जितको नजिक भएको यस अधि विश्लेषण गरेकाहरूले उम्मेदवारी दर्तापछि देउवालाई चुनावी मैदानमा कठिन यात्र तय गर्नु पर्ने बताइरहेका छन् ।
विश्लेषकहरूका अनुसार, देउवाले नेता कृष्णप्रसाद सिटौलालाई टिममा ल्याउँदा आफ्ना टिमका नेताहरू छुट्नु र प्रभावशाली केही नेताले उहाँको साथ छोडेबाट देउवाका लागि चुनावी मैदान फलामको चिउरा चबाउनु जस्तै रहेको बताउछन् ।
सत्ता र पदको आडमा सहज जित हुने आशामा रहेका वर्तमान सभापति देउवालाई अहिले असहज भएको उनी निकट असन्तुष्ट नेताले बताए । ती नेताका अनुसार, उम्मेदवारी दर्ता गर्नुभन्दा अगाडिसम्म देउवाले आफ्नो सहज जित हुने निश्चित जस्तो अडकल गरेका थिए तर अहिले चुनाव जित्न असहज छ ।
देउवा टिमका नेता गृहमन्त्री बालकृष्ण खाँड, सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, एन.पी. साउद, रमेश लेखकलगायतका नेता असन्तुष्ट हुनुले देउवालाई चुनाव आफ्नो पक्षमा बनाउन समस्या हुने देखिएको हो ।
महाधिवेशन अगाडि देउवाले महामन्त्री पदमा बालकृष्ण खाँड, विश्वप्रकाश शर्मा र सह-महामन्त्री पदमा ज्ञानेन्द्रबहादुर कार्की, एन.पी. साउद, रमेश लेखकलगायतका नेतालाई आश्वासन दिएका थिए । तर, सिटौलासँग सहकार्य गर्नका लागि ती पदका उम्मेदवारमा फेरवदल गर्दा आश्वासन पाएका नेताहरू टिमभित्र नअट्नु , टिमका प्रभावशाली नेता इतर पक्षमा जानु , टिमभित्रकै नेतामा ब्यापक असन्तुष्टि बढ्नु जस्ता कारणले देउवालाई चुनावमा चुनौती थपिएको छ ।
अहिले जारी महाधिवेशनमा टिम मिलाउन पनि देउवा आफू निकट नेताहरूसंग बसिरहेका स्रोतले जानकारी दिएको छ । नेता देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर तटस्थ बस्न आग्रह गर्नुले पनि देउवालाई यस पटकको चुनावमा नतिजा आफ्नो पक्षमा ल्याउन ठूलो कसरत गर्नु परेको देखिन्छ ।
