लमजुङ । लमजुङमा दुई थान भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । क्व्होँलासोथर गाउँपालिका–८ घाम्राङ घर भई हाल वडा नं ९ साल्मे बस्ने २७ वर्षीय यमबहादुर राना मगरलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले बताए ।
अवैधरूपमा लुकाइछिपाइ राखेको तथा स्थानीयवासिन्दालाई धाकधम्की दिने गरेको भन्ने विशेष सूचनाका आधारमा उनलाई मङ्गलबार एक थान लोड गरेको र एक थान अनलोड गरेको बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएकाे हाे । रानामगरलाई लमजुङ जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा बुधबार सात दिनको म्याद लिई थप अनुसन्धान कार्य गरिरहेको प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
सङ्घ तथा प्रदेशको निर्वाचन नजिकिएसँगै अवैधरूपमा राखिएका हातहतियारबाट हुनसक्ने घटनालाई रोक्न सक्रियता रुपमा लागेकाे रेग्मीले बताए । आज बिहान ती अभियुक्तलाई पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको प्रहरीले यसअघि केही महिनाअघि बेँसीसहर नगरपालिका–१ बाट पेस्तोलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
