काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको डिजिटल होर्डिङ बोर्ड बन्द गराएको छ ।
महानगरले होडिङ बोर्ड हटाउन पटक-पटक आग्रह गरे पनि सेन्टरले बन्द गरेको थिएन । महानगर प्रहरीको टोलीले सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड बिहीबार दिउँसो आफैं पुगेर बन्द गराएको हो ।
सडक र भवनमा राखिएका डिजिटल होर्डिङ बोर्डका कारण सवारी दुर्घटना बढेको भन्दै महानगरले डिजिटल होर्डिङ बोर्ड हटाउने अभियान सुरु गरेको हो ।
त्यहाँ ट्राफिक प्रहरीले सुरुदेखि नै डिजिटल होर्डिङ बोर्ड नराख्न आग्रह गर्दै आए पनि सुनुवाइ भएको थिएन । महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा बिहीबार बोर्ड हटाइएको हो ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली ट्रेड सेन्टर गएका थिए । स्वीकृत मापदण्डमा ८ सय स्क्वायर फिटमा मात्रै डिजिटल होडिङ बोर्ड राख्न पाइने नगर प्रहरीले जनाएको छ । सेन्टरमा राखिएको बोर्ड झन्डै १६ सय स्क्वायर फिट थियो ।
