काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहीबार राति अबेरसम्म बसेको छ । आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाउन करिब ११ घण्टासम्म बैठक बसेको हो । लामो समयसम्म बैठक बसेपनि दलहरुको आआफ्नो अडानले बैठक निष्कर्षमा पुग्न सकेन ।
एकदुई दिनभित्रै गठबन्धन दलको सिट बाँडफाँटको विषय निष्कर्ष पुग्ने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारसँग कुराकानी गर्दै बताएका छन् । यसभन्दा अगाडि प्राप्त गरेका सिट संख्यालाई नै आधार मानेर निर्णयमा पुगिने मन्त्री कार्कीको भनाइ छ । सञ्चारमन्त्री कार्कीले बैठकपछि पत्रकारलाई स्पष्ट कुरा नबताए पनि कांग्रेस आगामी निर्वाचनमा ९० सिटभन्दा तल नझर्ने बुझिएको छ ।
छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५०\५० सिटको प्रस्ताव राखेका जनाइएको छ । प्रतिनिधिसभाको कुल १६५ सिटमध्ये आधा कांग्रेसले लिने र बाँकी अरु दलबीच भागवण्डा हुनुपर्ने प्रचण्डले प्रस्ताव राखेका छन् । अन्य दलका पनि आ-आफ्नै अडान भएकाले सत्तारुढ दलको सिट बाँडफाँटको विषय लम्बिने देखिएको छ ।
