पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आसन्न निर्वाचन तयारीका लागि जनताको घरदैलोमा जान पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ समाजवादी कास्कीको भेलामा अध्यक्ष नेपालले चुनावमा टिकट प्राप्त गर्न सम्बन्धित भूगोलमा क्रियाशील हुनुपर्नेमा जोड दिँदै उम्मेदवार बन्न काठमाडौँ धाउने प्रवृत्ति नदेखाउन कार्यकर्तालाई सुझाए ।
निर्वाचनमा पार्टीले मापदण्ड बनाएर उम्मेदवार छनोट गर्ने बताउँदै उनले गठबन्धनमा सहमति नभए आफ्नो पार्टी एक्लै चुनावमा जाने भएकाले सबै जनवर्गीय संगठनले देशभर संगठन सुदृढीकरणका लागि उत्साहित भएर लाग्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले पार्टीको निर्णय सबै कार्यकर्ताले मान्नुपर्ने भन्दै गठबन्धन दलभित्र सबैको महत्व र भूमिकाको मूल्यांकन गरी न्यायोचित आधारमा सिट बाडफाँड गर्नुपर्नेमा जोड दिए । नेकपा माओवादी केन्द्रमा नेकपा एकीकृत समाजवादी विलय हुँदै छ भनेर नेकपा एमालेले कुप्रचार गरेको उनको भनाइ थियो ।
