काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट आगामी मंसिर चारको निर्वाचनमा दाङको क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा सदस्यमा दुर्लभ केसीले आफूलाई दरिलो युवा उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् ।
संघमा सिट बाँडफाँडका लागि गृहकार्य भइरहेकाले कुन ठाउँमा कुन पार्टीको भागवण्डामा पर्ने भन्ने अन्योल भएपनि घोराही उपमहानगरपालिका वडा नम्बर १३ का दुर्लभ केसीले भने उम्मेदवारको दाबी प्रस्तुत गरेका हुन् । आफूलाई उम्मेदवारका लागि सिफारिस गर्न आग्रह गर्दै केसीले भने, “देशभर युवाहरुको लहर चलेको छ । जनताको भरोसा र आशाका केन्द्र अहिले युवाशक्ति बनिरहेका छन् । अब युवा अगाडि सर्नुपर्ने बेला भएको छ ।” उनले थपे, “पार्टीको गरिमालाई अझ उँचो राख्न, संघीय उम्मेदवारलाई टेवा पुर्याउन तथा युवा पिँढीको प्रतिनिधित्व गर्दै मेरो उम्मेदवारी रहने छ ।”
उम्मेदवारका आकांक्षी दुर्लभ केसी विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका छन् । नेपाली कांग्रेस घोराही नगर समितिका उपसभापतिका रुपमा कार्यरत केसी समाजसेवामा पनि सक्रिय छन् । श्री वराहक्षेत्र व्यापार सेवा प्रालिबाट व्यापारमा समेत संलग्न केसीले विभिन्न सामाजिक संघसंस्थाहरुमा समेत आफूलाई क्रियाशील बनाउँदै आएका छन् । घोराही उपमहानगर चेम्वर अफ कमर्सका संस्थापक उपाध्यक्ष रहेका उनले हाल अध्यक्षको रुपमा त्यसको नेतृत्व सम्हालिरहेका छन् ।
उनी राप्ती अञ्चल पेट्रोलियम डिलर्स एसोशियशनका कार्यकारिणी सदस्य पनि हुन् । उनले नेपाली कांग्रेस घोराही नगर समितिको सल्लाहकार, नेपाल तरुण दल क्षेत्र नं. २ को सचिव, दाङ निर्माण व्यवसायी संघको कार्यसमिति सदस्य र राप्ती अञ्चल यातायात व्यवसायी समितिको कार्यसमिति सदस्यको रुपमा समेत काम गरिसकेका छन् ।
