काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तारूढ दलहरूकै कारण मंसिर ४ गते निर्वाचन हुन्छ भन्नेमा ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।
पार्टीको केन्द्रीय सम्पर्क समन्वय कमिटीले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेम्वाङले यस्तो बताएका हुन् । उनले सत्तारूढ गठबन्धन निर्वाचनसँग डराइरहेको आरोप पनि लगाए । सत्तारूढ गठबन्धन आउँदो प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जान डराइरहेको उनको भनाइ छ ।
उपाध्यक्ष नेम्वाङले निर्वाचनपछि पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने दाबी गर्दै त्यसको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे । वर्तमान सरकारले लोकतान्त्रिक विधि र प्रक्रियालाई समेत लत्याएको उनले आरोप लगाए ।
