• ट्रेण्डिङ्ग :
निलम्बित प्रधानन्यायाधीश राणाको तेस्रो दिनको बयान सकियो, २५ गते पुन: बोलाइयो

निलम्बित प्रधानन्यायाधीश राणाको तेस्रो दिनको बयान सकियो, २५ गते पुन: बोलाइयो


  • 4.8K
    SHARES
    • भाद्र १९, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 7.4K Views

    निलम्बित प्रधानन्यायाधीश राणाको तेस्रो दिनको बयान सकियो, २५ गते पुन: बोलाइयो

    काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि  महाभियोग सिफारिस समितिको बैठकमा आज तेस्रो दिनको बयान सकिएको छ। महाअभियोग सिफारिस समितिले आज उनलाई पाँचवटा प्रश्न सोधेको थियो। आज सातौँ प्रश्नबाट उनीसँग बयान सुरु गरिएको थियो । 

    images

    समितिले उनीसँग बुधबारबारदेखि बयान लिन सुरू गरेको हो । उनीसँग बयानका लागि ४३ वटा प्रश्न तय गरिएको छ। पहिलो दिन चार वटा तथा दोस्रो दिन दुई गरी अहिलेसम्म जम्मा छवटा प्रश्नमाथि छलफल भएको छ । निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको, संविधान र कानुन बमोजिम काम गर्दै आएको बयान दिँदै  आएका छन् ।  

    आज आइतबार उनीसँग करिब एक घण्टा बयान लिइएको थियो भने पुन: भदौ २५ गते बोलाइएको छ । निर्वाचनको तयारीका लागि नेताहरू जिल्ला-जिल्लामा जानुपर्ने भएकोले बैठक केही दिन पर सारिएको जनाइएको छ । 
     
    छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयको तीन महिनामै निष्कर्ष आउनुपर्ने भएपनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ। उक्त समितिको  यही भदौ ८ गते बसेको बैठकले उनलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार बयान लिने काम भइरहेको छ । 
     
    राणा विरुद्धगत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थ‍िए । संसद्ले महाभियोग सिफारिस समिति गठन गरेपनि यही भदौ १ गते मात्र सो समितिको पहिलो बैठक बसेको थियो ।

    राणाविरूद्ध नेपाल बार एशोसिएशन र सर्वोच्च बार एशोसिएशनले महाअभियोग पुष्टि गर्न ३४ बुँदेपत्र समितिलाई बुझाएको थियो । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारण समेटिएको छ । समितिले निलम्बित प्रधानन्यायाधीशलाई प्रश्नहरू सोध्ने र राणाले प्रश्नको जवाफ दिने क्रम आइतबार पनि जारी रहेको हो ।