काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको क्षेत्र नम्बर ३ बाटै आगामी मंसिर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वारी दिने बताएका छन् । गोरखाको क्षेत्र नम्बर १ मा उनको नाम सिफारिस भएपछि उनले चितवन-३ बाटै निर्वाचन लड्ने प्रस्ट्याएका हुन् । दुई संघीय निर्वाचन क्षेत्र रहेको गोरखामा गोरखा-१ बाट प्रचण्डको नाम सिफारिस भएको छ भने गोरखा-२ मा पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको छ ।
गोरखा १ मा प्रचण्डसहित हरिराज अधिकारी र सुशीला सिङ्खडाको नाम सिफारिस भएको छ । त्यस्तै दुईमा उपाध्यक्ष श्रेष्ठसहित हितराज पाण्डे र लेखनाथ न्यौपानेको नाम सिफारिस गरिएको छ । प्रचण्ड गएको निर्वाचनमा एमालेसँग तालमेल गरेर चितवन ३ बाट निर्वाचित भएका थिए । आगामी निर्वाचनमा पनि प्रचण्डले सत्ता गठबन्धनका तर्फबाट चितवन ३ बाटै उम्मेद्वारी दिने बताइसकेका छन् ।
गएको निर्वाचनमा प्रचण्डले राप्रपाका विक्रम पाण्डेलाई लगभग १० हजार मतान्तरले पराजित गरेका थिए । प्रचण्डले ४८ हजार दुई सय ७६ मत पाएका थिए भने पाण्डेले ३८ हजार नौ सय ३५ मत प्राप्त गरेका थिए । चितवनमा तीनवटा निर्वाचन क्षेत्र रहेका छन् । जसमा क्षेत्र नम्बर तीनलाई तुलनात्मक रुपमा सत्ता गठबन्धनको सबैभन्दा बढी सुरक्षित क्षेत्र मानिन्छ । क्षेत्र नम्बर ३ बाट सत्ता गठबन्धनको उम्मेद्वार बन्दा बढी सहज हुने भएकाले उनले चितवन ३ लाई रोजेका हुन् ।
७४ को निर्वाचनअघि प्रचण्ड रोल्पा, काठमाडौं र सिरहाबाट उम्मेदवार बनेका थिए ।
चितवन-३ बाट प्रचण्ड एकल सिफारिस
प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका लागि गोरखा २ बाट प्रचण्डसँगै तीनजनाको नाम सिफारिस भएको थियो । तर चितवन तीनबाट भने प्रचण्डको एकल सिफारिस भएको छन् । माओवादी केन्द्रको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समिति बैठकले प्रचण्डको नाम सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको हो ।
त्यस्तै माओवादी केन्द्रले प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेद्वारको नाम पनि सिफारिस गरेको छ । प्रदेश ३ (क) मा प्रकाश कँडेलसहित तीनजना र ३ (ख) मा गोपाल न्यौपानेसहित आठजनाको नाम सिफारिस गरेको छ । मंसिर ४ को निर्वाचनका लागि अध्यक्ष प्रचण्डले आफ्नो चुनावी कमान्डरका रुपमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई अगाडि सारिसकेका छन् ।
स्थानीय तहको मतपरिणामअनुसार प्रचण्डलाई चितवन-३ नै सहज
गएको वैशाख तीसको स्थानीय तहको निर्वाचनको मतपरिणाअनुसार प्रचण्डलाई गठबन्धनको तर्फबाट क्षेत्र नम्बर तीनकै उम्मेद्वार बन्दा सहज हुने देखिन्छ । चितवनको क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वडा र माडी नगरपालिकाका नौ वडामध्ये नौवटै वडा पर्छन् । गत स्थानीय तह निर्वाचनको मत परिणामअनुसार दलगत रुपमा यस क्षेत्रमा नेकपा एमाले पहिलो दलको रुपमा स्थापित भएको थियो । वडाध्यक्षले पाएको कुल मतपरिणामलाई हेर्दा एमाले २९ हजार आठ सय ५१ मत ल्याएर पहिलो पार्टी बनेको थियो । त्यस्तै २९ हजार तीन सय ४३ मत प्राप्त गर्दै कांग्रेस दोस्रो तथा १० हजार नौ सय ४० मत प्राप्त गरेर माओवादी तेस्रो स्थानमा रहेको थियो । राप्रपाले ६ हजार एक सय ९९ र नेकपा एकीकृत समाजवादीले पाँच हजार ३७ मत प्राप्त गरेका थिए ।
एकल रुपमा हेर्दा अन्य दलहरुभन्दा एमाले झिनो मतले अगाडि देखिए पनि सत्तारुढ गठबन्धन र एमालेले राप्रपासँग तालमेल गर्दा पनि यस क्षेत्रमा सत्तारुढ गठबन्धन निकै बलियो अवस्थामा रहने देखिन्छ । स्थानीय तह निर्वाचनमा पाएको मतलाई हेर्दा सत्तारु पक्षका तीन दलले पाएको मत ४५ हजार तीन सय २० छ । एमालेको २९ हजार आठ सय ५१ र राप्रपाको ६ हजार एक सय ९८ छ । यदि राप्रपा र एमालेबीच गठबन्धन गर्ने हो भने पनि ३६ हजार ४९ मत हुन्छ जुन सत्तारुढ दलको भन्दा नौ हजार दुई सय ७१ मतले कम हो ।
यसरी गएको स्थानीय तहको मतपरिणामअनुसार पनि चितवन तीन सत्तारुढ गठबन्धनका दलहरुलाई एक ठाउँमा उभ्याउन सके प्रचण्डलाई सहज हुने देखिन्छ । स्थानीय तहका मतपरिणामले चितवन तीनमा माओवादी तेस्रो पार्टी बनेको कारणले चितवन कांग्रेसका सबै नेताहरुले साथ नदिने हुन् कि भन्ने आशंका रहन्छ । यदि कांग्रेसभित्र नेताहरुको आन्तरिक व्यवस्थापन गरेर कांग्रेसले प्रचण्डलाई पूर्ण रुपमा सहयोग गरेमा एमाले, राप्रपालगायत दलहरु गठबन्धन गरेर उनको विरुद्धमा उठे पनि उनलाई जित्न सहज हुने देखिन्छ ।
तर कांग्रेसले आफ्नो सबै मत प्रचण्डलाई नहाल्ने र एमालेले अन्य दलसँग तालमेल गरेको खण्डमा भने प्रचण्डलाई विजयी हुन कठिन हुने देखिन्छ । स्थानीयत तह निर्वाचनको मतपरिणामअनुसार गठबन्धनको तर्फबाट प्रचण्डलाई सहज हुने भएकाले यही अनुकूलतालाई हेरेर प्रचण्डले क्षेत्र नम्बर ३ नै रोजेका हुन् ।
पदम भुजेल
